बिदुरः ऐतिहासिक पुराना चलचित्रको विशेष कार्यक्रम सनचालन गरिएको छ । नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’का चार ऐतिहासिक कलाकारको उपस्थितिमा ‘ओल्ड इज गोल्ड’ कार्यक्रम शुभारम्भ गरिएको छ । चलचित्र ‘आमा’ का चार विशिष्ट कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा चलचित्र विकास बोर्डको विशेष ‘ओल्ड इज गोल्ड’ कार्यक्रम शुभारम्भ भएको हो ।


हाम्रो चलचित्र, हाम्रो इतिहास, हाम्रो गौरव भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा चारै जना कलाकारहरुलाई विशेष सम्मानसहित स्वागत गरिएको थियो । चारै जना कलाकारहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरी ‘ओल्ड इज गोल्ड’ कार्यक्रमको उद्घाटन गरे । आयोजक चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कार्यक्रमको सहजीकरण गर्दै चारै कलाकारसँग ‘आमा’ चलचित्र निर्माणताकाका अनुभव, तत्कालीन नेपाली चलचित्र क्षेत्रका स्मरण तथा ऐतिहासिक प्रसङ्गहरू दर्शकमाझ साझा गराए ।

साथै कलाकारहरूकै उपस्थितिमा नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शन गरिएको थियो । कार्यक्रमप्रति दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।
हलका सिट भरिएपछि कतिपय दर्शकले उभिएरै चलचित्र अवलोकन गरेको दृश्यले पुराना नेपाली चलचित्रप्रतिको प्रेम र सम्मानलाई थप उजागर गरेको थियो । उक्त अवसरमा बोर्ड अध्यक्ष दिनेश डिसीले अबदेखि प्रत्येक महिना एउटा ऐतिहासिक नेपाली चलचित्रको चलचित्र हलमा विशेष प्रदर्शन गर्ने घोषणा गरे ।

उक्त विशेष प्रदर्शनबाट संकलित रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिने वोर्डले जनाएको छ । नेपाली चलचित्रको इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने, पुराना चलचित्र तथा तिनका सर्जक–कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित ‘ओल्ड इज गोल्ड’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।










