बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको भलाद्मीडांडा नजिकै सुख्खा पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । लिखु–३ मा पहिरोको जोखिम रहेको छ । ढिकुरेबाट लिखु गाउपालिका कार्यालय जाने सडक पूर्ण अवरुद्ध भएको हो । ढिकुरेबाट लिखु गापाको कार्यालयसहित लिखु गापा ३ वडा कार्यालय तथा भलाद्मीडाडा जाने सडकखण्डमा निरन्तर पहिरो खसिरहेकाले यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । निरन्तर झरिरहेको पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै पहिरो पन्छाउने कार्य मंगलवार विहानैदेखि सुरु गरिने प्रहरी निरीक्षक वीरवहादुर बलायरले जानकारी दिए ।


स्थानीयवासीका अनुसार पहिराले स्थानीय बस्तीसमेत जोखिममा परेको छ । उक्त सडकखण्ड नजिकै मानबहादुर गुरुवाचार्यको घर नजिकैको भिरबाट पहिरो खसेकाले पैदलयात्रा तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा जोखिमपूर्ण रहेकाले उक्त बाटो प्रयोग नगर्न वडाबासी तथा यात्रु महानुभावहरूलाई अनुरोध गरिएको लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । यसैबीच, पहिरोको कारण जोखिममा परेको बस्तीको सुरक्षित व्यवस्थापन, राहत तथा अवरुद्ध सडक सञ्चालनका लागि आवश्यक पहल भइरहेको लिखु गापा ३ का वडाध्यक्ष सीताराम पुलामीमगरले जानकारी दिए । सुख्खा पहिरो खसेपछि सात घर जोखिममा परेका छन् ।

पहिरोका कारण गाउँपालिका जाने सडकसमेत अवरुद्ध हुंदा सेवाग्राहीहरुलाई समस्या भएको छ । पहिरो खसेपछि आसपासका घरपरिवार जोखिममा परेका छन् भने सडक अवरुद्ध हुँदा आवतजावतमा समेत समस्या भएको छ । पहिरोका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले सम्बन्धित निकायले पहल सुरु गरेको छ । जोखिममा रहेका घरपरिवारको सुरक्षा सुनिश्चित गर्न, सम्भावित थप क्षति रोक्न र अवरुद्ध सडक खुलाउन आवश्यक पहल गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन् ।






