बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा पिउने पानीका संरचना ध्वस्त पारेको छ । पिउने पानीको संरचना ध्वस्त हुंदा सर्वसाधारणलाई समस्या परिरहेको छ । दुई महिना अगाडि अर्थात् गत भदौ १० गते विहान १० वजे त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा क्षति गरेको हो ।


बाढीले ति स्थानीय तहमा रहेका ३२ वटा खानेपानीको योजना ध्वस्त वनाएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । ति खानेपानी योजना ध्वस्त हुंदा लाखौं सर्वसाधारण प्रभावित भएका छन् । बाढीले पिउने पानीको योजना ध्वस्त हुंदला कुल ५८ करोड ६० लाख रुपैया वरावरको नोक्सान भएको प्रारम्भिक विवरण रहेको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार कतिपय योजनाहरु मर्मत भइरहेको, कतिपय योजनाहरु पुर्ननिर्माण गरिनुपर्ने तथा कतिपय योजनाहरुमा अस्थायी रुपमा पिउने पानी सन्चालन गरिएको छ । वागमति प्रदेश सरकार अन्र्तगत खानेपानी तथा सरसफाई डिमिजन कार्यालय नुवाकोटमार्फत १२ हजार मिटर पिउने पानीको पाइप उपलवध गराइएको छ । बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत बिदुर नगर क्षेत्रमा सन्चालित पिउने पानीको योजनाको मर्मत तथा पुर्नस्थापनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत एकसय केभिए क्षमताको जेनेरेटर तथा स्पेपलाइजरका साथमा ३२ हजार मिटर पाइप प्राप्त भएपछि अस्थायी रुपमा मर्मत गरिएको छ ।

स्वास्थ्य, पुर्वाधार तथा कनेक्टिभिटीलाई प्राथमिता दिएर कार्य भइरहेको जनाइएको छ । बाढीले नुवाकोटमा दुईहजार सातसय २३ जना वेपत्ता वनाएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार तीनहजार ६ सय ३० जनाको उद्धार गरिएको छ । गृह मन्त्रालय विपद जोखिम न्युनीकरण तथा वयवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय नुवाकोट, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि रहेको संयन्त्रमार्फत एकद्वारा प्रणाली अनुसार राहत वितरण भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला समन्वय समिति र बिदुर नपाको कार्यालयमा राहत संकलन र वितरण भइरहेको छ । हालसम्म विभिन्न पांचसय ३६ वटा संघसंस्थामार्फत राहत संकलन भएको छ । दुईहजार ६ सय ९७ स्थानमा विभिन्न प्रकारका राहत वितरण गरिसकिएको नुवाकोट प्रशासनले जनाएको छ ।






