बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटका विभिन्न स्थानमा प्रभाव पारेको छ । जसका लागि बिदुर नगरपालिका र रेडक्रसवीच साझेदारी सुरु भएको छ । बिदुर नपा र नेपाल रेडक्रस सोसाइटीवीच गत भदौ १० गतेको प्रलयकारी बाढीको प्रतिक्रिया, पुनर्लाभ तथा पुनस्र्थापनाका लागि साझेदारी सम्झौता भएसंगै कार्य सुरु भएको हो ।


बाढीबाट प्रभावित समुदायहरुको तत्कालिन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्लाभ, पुनस्र्थापना र भबिष्यमा हुन सक्ने विपद तथा जलबायुजन्य जोखिमप्रति उत्थानशीलता अभिबृद्धीका लागि सहकार्य गर्ने उद्धेश्यले साझेदारी सम्झौता भएकोे छ । यसका साथै त्रिशूली अस्पताल नुवाकोटमा अधाुनिक उपकरण आउने भएको छ । यसवाट नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका बिरामीलाई सहजता आउनेछ ।

त्रिशूली अस्पतालमा एमआरआई मेसिन उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सेवा सञ्चालनमा आएपछि नुवाकोट, रसुवा र धादिङका बिरामीलाई जटिल रोगको पहिचान तथा उपचारमा सहज हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ । नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विदुर नगरपालिका, इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीजको नेपाल प्रतिनिधिमण्डल, नेपाल रेडक्रस सोसाइटी नुवाकोटबीच सहकार्य सुरु भएको विदुर नपाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

त्रिशूली अस्पतालमा उक्त सेवा सञ्चालन भएपछि जटिल रोगको परीक्षण तथा उपचारका लागि काठमाडौंलगायत टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । यसबाट बिरामी र विरामीका परिवारलाई आर्थिक तथा स्वास्थ्य राहत पुग्ने अपेक्षा गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ । यसवाट अस्पतालको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै त्रिशूली अस्पतालको सेवा थप प्रभावकारी बनाउनेछ ।

कार्यक्रमकावीच बिदुर नपाका मेयर राजन श्रेष्ठ, रेडक्रसका महामन्त्री ऋषीरमण खनाल, अन्तराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघका नेपाल प्रमुख डेभिड फिसर र नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै कार्य सुरु भएको छ । सम्झौता पत्रमा दुबै पक्षले स्वास्थ्य संबन्धि सहायता, खानेपानी सरसफाई तथा स्वच्छता, आवास तथा आश्रय संबन्धि सहायता, मर्मत तथा पुनस्र्थापना, जीविकोपार्जन पुनस्र्थापना तथा आर्थिक पुनर्लाभ, नगद सहायता तथा आवश्यकतामा आधारित नगद सहयोग र विपद जोखिम न्यूनिकरण, पूर्वतयारी तथा समुदायको उत्थानशीलता अभिबृद्धिका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ । सम्झौता अनुसार रेडक्रसले बाढीका कारण बेपत्ता परिवारका एकल महिला, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रति परिवार एकलाख रुपैयाँ तथा दुईहजार घरधुरीलाई बहुद्धेश्यीय नगद सहायता, उपलब्ध गराउने छ ।

एकहजार परिवारलाई जीविकोपार्जन पुनस्र्थापना सहायता, दुईहजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नभएसम्म घरभाडा भुक्तानी, ६ सय घरधुरीलाई संक्रमणकालीन आवासको व्यवस्थापन रेडक्रसले गर्ने सम्झौतापत्रमा उल्लेख छ । रेडक्रसले बाढीका कारण प्रभावित बिदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाईपलाईनको मर्मतका साथै बिदुर, बुधसिंहघाट, सिर्खाली र महारानिडिही क्षेत्रमा ३० हजार जनसंख्या लाभान्वित हुनेगरी खानेपानी प्रणालीको मर्मत तथा पुनस्र्थापना गर्ने छ । स्वास्थ्य तथा सामाजिक पूर्बाधारको पुनर्निर्माण तथा पसनस्र्थापना, आधारभूत स्वास्थ्य तथा आपतकालिन स्वास्थ्य सेवा, बिद्यालय तथा शैक्षिक पूर्बाधारको पुनस्र्थापना, शिविर ब्यवस्थापन तथा प्रभावित ब्यक्तिको सहयोग लगायतका क्षेत्रमा समेत रेडक्रसले काम गर्ने समझदारीपत्रमा उल्लेख छ ।

समझदारी अन्तर्गतका कार्यक्रम तथा गतिबिधिहरुको समन्वय, मार्गदर्शन, अनुगमन तथा समिक्षा गर्न नगर प्रमुख वा नगरप्रमुखले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम संचालन समिति गठन गरिने छ । समझदारी पत्रमा हस्ताक्षरपछि बिदुर नपाका मेयर राजन श्रेष्ठले रेडक्रसको प्रभावित क्षेत्रमा सहयोग गर्ने तत्परता र क्रियाशिलताले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना र नागरिकको सहज जीवन यापनका लागि महत्वपूर्ण योगदान पुग्ने बिश्वास ब्यक्त गरे ।

उनले विपदलाई अवसरको रुपमा समेत लिँदै रेडक्रससंगको प्रभावकारी सहकार्य मार्फत विपदको पीडालाई बिस्मृतिमा पु¥याउन स्थानीय तह क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गरे । रेडक्रसका महामन्त्री खनालले बाढी प्रभावित क्षेत्रका नागरिकको बहुपक्षीय सहयोगमा रेडक्रसको निरन्तर क्रियाशिलता रहने बताउँदै निर्धारित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र रेडक्रसका संरचनाहरुको प्रभावकारी समन्वयमा जोड दिए । विपदमा रेडक्रसले मानवीय सेवा गर्दै आएको उनले उल्लेख गरे ।







