बिदुरः स्वास्थ्य पहुंचमा जोड दिदै नुवाकोटमा आपतकालीन पोषण लेखाजोखा कार्यक्रम सन्चालन गरिएको छ । यसवाट आम नागरिकहरु स्वास्थ्य सेवाको पहुंचमा पुगेका छन् । बिदुर नगरपालिकाले बिदुर नपा ५ को गंंगटे चोक, माझिटार /शहरी स्वास्थ्य केन्द्रबाट बाढीपश्चात् समुदायस्तरमा आपतकालीन पोषण लेखाजोखा कार्यक्रम सन्चालन गरिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।


कार्यक्रममा विपद्को समयमा खानेकुराको उपलब्धता, खानपान तथा स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने भएकाले गर्भवती महिला, सुत्केरी आमा तथा ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाको पोषण अवस्थालाई विशेष प्राथमिकता दिइएको छ । कोही पनि नछुटौँ, सबैको पोषण लेखाजोखा गराऔँ, समयमै पोषण पहिचान—स्वस्थ आमा र स्वस्थ बालबालिकाको आधार भन्ने नारासहित सन्चालित यस कार्यक्रमबाट सेवाग्राहीहरुले बालबालिकाको वृद्धि तथा पोषण अवस्था जाँच, पोषणसम्बन्धी आवश्यक जानकारी तथा परामर्श प्राप्त गर्न सकिने जनाइएको छ ।

पोषणको कमी वा जोखिम समयमै पहिचान हुँदा आवश्यक स्वास्थ्य सेवा तथा थप उपचारका लागि समयमै पहल गर्न सहज हुने वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ । यस कार्यक्रमले बालबालिकाको स्वस्थ वृद्धि–विकास र आमाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउँने छ । बिदुर नपा–५ को विभिन्न टोल तथा समुदायमा रहेका गर्भवती महिला, सुत्केरी आमा र ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु उक्त कार्यक्रममा सहभागी भएका छन् ।


















