बिदुरः लेन्देखोलावाट भोटेकोशी नदी हुदै त्रिशूली नदीमा आएको विनासकारी बाढीले पीडित भएका परिवारलाई नगद आर्थिक सहयोग उपलव्ध भएको छ । पीडितहरुको घरघरमै पुगेर नगद आर्थिक सहयोग प्रदान गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिका ६ स्थित सिर्जनाटोल विकास समितिले समूहमा संकलित रकम बाढी पीडित परिवारलाई घरमै पुगेर हस्तान्तरण गरेको हो । बाढी पीडित २७ जनालाई दामासाहीले नगद एकलाख ६५ हजार रुपैया प्रदान गरिएको सिर्जना टोल विकास समितिका अध्यक्ष श्री भोजबहादुर बुढाथोकीले जानकारी दिए ।


बाढीपीडितहरूको दुःखमा साथ दिँदै थोरै सहयोग गर्ने उद्धेश्यले उक्र राहत वितरण गरिएको उनले वताए । उक्त कार्यमा समितिका पूर्व अध्यक्ष धर्मभक्त लामा, सूर्यमार्गका अध्यक्ष सानाकाँजा कार्की, सहकोषाध्यक्ष यशोदा ओली, समाजसेवी कुमार बस्नेत र अभिषेक घिमिरेको सहभागिता रहेको थियो । दिक्षान्त पब्लिक स्कुलले ४० जोर ट्रयाकसुट, ४० थान जर्सि ४० थान टिसर्ट बाढी पीडितहरुलाई वितरण गरेको छ । स्कुलका सन्चालक भोजबहादुर बुढाथोकीले २७ घरपरिवारलाई ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

यसका साथै गत भदौं १० गतेको प्रलयकारी बाढीका कारण बिदुर नपा ५ का पीडितहरुलाई नुवाकोट रेडक्रसमार्फत नगद सहयोग उपलब्ध गराइएको छ । रेडक्रसको बहुद्धेश्यीय नगद सहायता कार्यक्रम अन्तर्गत दुईसय ५७ जना प्रभावितहरुलाई नगद सहायता उपलब्ध गराईएको हो । कार्यक्रम अन्तर्गत मृतकका परिवार, बेपत्ता भएकाका परिवार र घर पूर्ण र घरमा बस्ने अवस्था नरहेका परिवारलाई १५ हजार रुपैयाँका दरले नगद सहायता उपलब्ध गराईएको नुवाकोट रेडक्रसले जनाएको छ ।

बिदुर नपा ५ को कार्यालयमा मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, बिदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, नगद रकम बितरणका लागि सहयोगी संस्था ईन्टरनेशनल फेडेरेशन अफ रेडक्रस (आईसिआरसी) का क्षेत्रीय प्रतिनिधि अलेकजेण्डर म्याथ्यु र नुवाकोट रेडक्रसका सभापति हरी श्रेष्ठले एकसय ६ जना प्रभावित हरुलाई नगद सहायता बितरण गरेका हुन् । रेडक्रसका अनुसार कूल प्रभावित दुईसय ८७ जना मध्ये एकसय ५१ जनालाई बैंक खाता मार्फत नगद उपलब्ध गराईएको हो ।

बाँकी ३० जनालाई वडा कार्यालयमार्फत नै रकम उपलब्ध गराईने छ । नुवाकोट रेडक्रसले बिदुर नपाका बाढी प्रभावित १ हजार ७ सय १० जनालाई नगद सहायता उपलब्ध गराउने तयारी गरिरहेको रेडक्रसका जिल्ला सभापति हरि श्रेष्ठले बताए । उनका अनुसार विपदका समयमा बहुद्धेश्यीय नगद सहायता कार्यक्रममार्फत उपलब्ध गराईने रकम प्रभावितहरुले सम्मानजनक रुपमा आफ्ना आवश्यकताहरु परिपूर्ति गर्नका लागि प्रयोग गर्न सक्ने र त्यसले उनीहरुको दैनिक जीवनयापन केही हदसम्म भएपनि सहज भएको छ ।







