बिदुरः बाढीमा अभिभावक गुमाएका नुवाकोटका विद्यार्थीलाई प्याब्सनले पूर्ण छात्रवृत्ति दिने भएको छ । प्रलयकारी बाढीबाट प्रभावित विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले विशेष राहत तथा शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्याब्सन नुवाकोटको जिल्ला कार्यसमितिको पूर्ण बैठकले बाढीमा आमा र वावु दुवै गुमाएर अभिभावकविहीन बनेका विद्यार्थीको शिक्षा र संरक्षणका लागि संस्थागत जिम्मेवारी लिने निर्णय गरेको हो ।


बाढीका कारण घरबार गुमाएका विद्यार्थीलाई विद्यालय अध्ययनमा समस्या नपरोस् भनेर पाठ्यपुस्तक, कापीलगायत आवश्यक शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ । प्याब्सनले बाढीबाट प्रभावित निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई समेटेको छ । घरबारविहीन भएका शिक्षक र कर्मचारीलाई उनीहरूको अवस्था तथा आवश्यकताको मूल्याङ्कन गरी सहयोग उपलब्ध गराइने जनाइएको छ । बाढीले नुवाकोटका दुई वटा सदस्य विद्यालयको भौतिक संरचना क्षति भएको छ ।

त्रिशूलीस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र बेत्रावतीस्थित उत्तरगया पब्लिक इङ्गलिस स्कुल बाढीले पूर्णरुपमा बगाएको छ । बाढीपछि केही विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय सञ्चालक अभैm सम्पर्कविहीन भएको प्याव्सन नुवाकोटले जनाएको छ । विपद्ले विद्यालय भवन र घर मात्र नभई बालबालिकाको पढाई तथा शैक्षिक भविष्यसमेत प्रभावित बनाएको अवस्थामा प्याब्सन नुवाकोटले घोषणा गरेको सहयोग कार्यक्रमले बाढीपीडित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाढीका कारण रोकिएका पठनपाठन अधिकांश विद्यालयहरुले सुरु गरेका छन् ।





