बिदुरः नुवाकोटको तारुकामा रुखबाट खसेर एक जना पुरुषको ज्यान गएको छ । काप्राको स्याला काटेन रुख चढेका एक व्यक्तिको रुखवाट खसेर निधन भएको हो ।
तारकेश्वर गाउंपालिका ३ हटिया घर भएका ५२ वर्षिय बिष्णु श्रेष्ठको आफ्नै बारीमा रहेको काप्राको रुख चढेर स्याउला काट्ने क्रममा रुखवाट खसेर ज्यान गएको वडाध्यक्ष सुर्यमान श्रेष्ठले जानकारी दिए ।


घरवाट निस्केर बारीमा अपरान्ह स्याउला काट्न काप्रोको रुख चढेका विष्णु राती अवेरसम्म घर नफर्किएपछि खोज्दै जांदा कांप्रोको रुखवाट खसेर सख्त घाइते अवस्थामा उद्धार गरि उपचारका लागि काठमाडौ लगिएको थियो । टाउको र शरिरमा गम्भीर चोट लागेका श्रेष्ठको शुक्रवार मृत्यु भएको वडाध्यक्ष सुर्यमान श्रेष्ठले जानकारी दिए । मृतकको शव त्रिशूली अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

यसैवीच, नुवाकोटवाट काठमाडौं प्रवेशको छोटो दुरीको टोखा–छहरे–गंगटे सडक खण्ड अन्तर्गत लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा शुक्रवार दुघृटना भएको छ । सडकमा गुडरहेको विद्युतीय माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । काठमाडौबाट त्रिशूलीतर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ख९१५१ नम्बरको विद्युतीय गाडी र मधेस प्रदेश ००६ प ३८७७ नम्बरको मोटरसाइकल शुक्रबार बेलुकी सांढे सात बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा शिवपुरी गाउँपालिका–८ थानापतिका स्थानीय अर्जुन पाठक र दुप्चेश्वर ७ का राम थापा घाइते भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
घाइते दुवै जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । घटनापछि गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनावारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।







