बिदुरः नुवाकोटको व्यस्त सडकमार्गमा यातायातका साधन चलाउने चालकहरुको लागू पदार्थ सेवन परिक्षण गरिएको छ । सोही क्रममा चालकहरुको स्वास्थय परिक्षणसमेत गरिएको थियो ।


पछिल्लो समय मादक पदार्थ सेवन गर्दा स्वास र मुख रुपवाट गन्ध आउने भएको हुँदा लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यसर्थ लापसेबाट हुने सवारी दुर्घटना समेत हुन सक्ने भएको हुदा त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ चालकहरुको सडकमै लापसे कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बिनोद ढकालले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय ढिकुरेमा नुवाकोटवाट काठमाडौं प्रवेशका लागि छोटो दुरीको टोखा–छहरे–गंगटे सडकखण्डमा सञ्चालित विभिन्न सवारी साधनहरूका चालकहरूको लापसे चेकिङ गरिएको हो । उक्त कार्यमा विभिन्न २२ वटा सवारी साधनका चालकहरूलाई लापसे परिक्षण गरिएको थियो ।

लापसे परिक्षण गर्दा सार्वजनिक सवारी साधनका एक चालकले लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएको हुँदा आवश्यक कारबाहीको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटमा पठाइएको प्रहरी निरीक्षक ढकालको भनाई छ । उक्त कार्यमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामा र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनोद ढकालको समेत अनुगमन थियो ।

यसका साथै सोही क्रममा लापसे परिक्षण गरिएका चालकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । बेला बेलामा सडकमार्गमा गुड्ने सार्वजनिक यातायातका साधनका चालकहरुको स्वास्थ्य परिक्षणसमेत गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।







