बिदुरः आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा मुख्यसहित दुइवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यससंगै निर्वाचनका सवै कामकाज सुरु भएका छन् । निर्वाचनका लागि विदुरस्थित नुवाकोट जिल्ला अदालतको परिसरमा नुवाकोटको मुख्य निर्वाचन अधिकृत र क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय एकैपटक उद्घाटन गरिएको छ ।


मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को तादी गाउँपालिका भवनमा र २ को जिल्ला अदालतको परिसरमा रहेको प्रिफेव भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । क्षेत्र नं. १ को खरानीटारमा राखिएको निर्वाचन अधिकृतको जिम्मेवारी भेषराज कोइराला रहेका छन् ।

कार्यालय स्थापना कार्यक्रममा नुवाकोटका प्रम्ुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मी, सहायक प्रजिअ कृष्णप्रसाद हुमागाई, निर्वाचन अधिकारी होमवहादुर थापामगर तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता रहेको थियो । नुवाकोटमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएपछि मुख्य निर्वाचन अधिकृत आचार्यले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत पहिलो हुने निर्वाचन पद्धति अनुसार निर्वाचन आयोगद्वारा प्रकाशित कार्यतालिका अनुसार काम अघि बढाइएको बताए ।

उनका अनुसार शुक्रवारै जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन सम्वन्धि काम सुरु गरिएको वताए । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनसम्बन्धी कार्यक्रमहरू प्रकाशन गर्ने, मतदान स्थल तथा मतदान केन्द्रहरूको नामावली सार्वजनिक गरिने उनले जानकारी दिए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कार्यतालिका अनुसार सुरक्षा व्यवस्थापनलगायत समग्र सुरक्षाको व्यवस्था मिलाउन आफूहरू प्रतिबद्ध रहेको बताए ।

दुई लाख ४७ हजार आठसय ६८ जना मतदाता
आगामी फागुन २१ गते हुने निर्वाचनमा नुवाकोटका दुई वटा निर्वाचन क्षेत्रमा दुई लाख ४७ हजार आठसय ६८ जना मतदाता रहेका छन् । जसमध्ये एकलाख २८ हजार आठसय ९० जना पुरुष, एकलाख १८ हजार नौसय ७५ जना महिला तथा तीन जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । नुवाकोटमा दुई वटा निर्वाचन क्षेत्रमा एकसय ३२ वटा मतदान स्थल र दुई सय ९३ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालय नुवाकोटका प्रमुख होमवहादुर थापामगरले जानकारी दिए ।

उनका अनुसार अघिल्लो निर्वाचनको तुलनामा नुवाकोटमा पांच वटा मतदान केन्द्र थप गरिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि आठहजार चारसय एक जना नयाँ मतदाता दर्ता भएका छन् । नयां मतदाताका लागि दर्ता भएकामध्ये आगामी फागुन २० गते १८ वर्ष उमेर पुरा भएकाले मात्र मतदान गर्न पाउने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।














