बिदुरः नुवाकोटवाटै नेपाल एकिकरणको सुरवात गरेका पृथ्वीनारायण शाहको अन्येष्टि गरिएको दिन माघ १ गते अन्तिम संस्कार गरिएको नुवाकोटको देवीघाट अर्थात् नेपालको राजघाटमा विशेष कार्यक्रम गरिएको छ । उनको अन्तिम संस्कार गरिएको स्थानमा विहीवार राष्ट्रनिर्माता पृथ्वीनारायणप्रति श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।


प्रसिद्ध त्रिशूली र तादी नदीको संगमस्थल विदुर नगरपालिका ५ देवीघाटस्थित नेपालको राजघाटमा विदुर नपाले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै श्रद्धान्जलीसहित २५२ औं स्मृति दिवस कार्यक्रम गरेको हो । नुवाकोटवाटै विशाल नेपालको एकीकरणको सुरुवात गर्नुका साथै जीवनको अधिकांश समय नुवाकोटमै विताएका र अन्तिम स्वास फेरेको नेपालकै अगुवा पृथ्वीनारायण शाहको देहावसान गत १८३१ साल माघ १ गते भएको स्मरणमा श्रद्धान्जली कार्यक्रम गरिएको र निरन्तरता दिइने विदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।

नेपालको राजघाट देवीघाटमा उनको अनितम संस्कार गरिएको ढुंगोमा स्मृति स्तम्भ र उनलाई विश्राम गराइएको तनि सय मिटर दुरी उत्तरमा रहेको विशाल ढुंगोमा उनको पुर्ण कदको शालिक निर्माण गरिएको छ । उनको अन्त्येष्टि गरिएको ऐतिहासिक स्थल नेपालको राजघाट देवीघाट जालपादेवी मन्दिर परिसरसंगै रहेको स्मृति स्तम्भमा विहीवार श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठ, विदुर–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, पृथ्वी स्मारक संरक्षण समितिका उपाध्यक्ष रामकृष्ण भट्ट, जालपा क्षेत्र विकास समितिका अध्यक्ष भतकाजी चित्रकार, उपाध्यक्ष तथा देवीघाट जालपा युवा क्लबका अध्यक्ष नबीन चित्रकार, विदुर नपा कार्यपालिका सदस्य दीपक कुमाल, चन्द्रज्योती माविका प्रधानाध्यापक वासुदेव पनेरु, शिक्षक राजकुमार गजुरेललगायत स्थानीयवासी, विभिन्न पेशा तथा क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले पृथ्वीनारायण शाहले गरेको नेपाल एकिकरणको अतुलनीय योगदान कुनै पनि वहानामा विर्सन नहुने वताए । उनीहरुले शाहको स्मृति स्तम्भामा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।










