बिदुरः सामाजिक विकासको उद्धेश्यले नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वर गाउंपालिकाले आमा तथा बा समूहलाई सहयोग प्रदान गरेको छ । यसवाट उनीहरुको क्षमता प्रवद्र्धन हुने लक्ष्य रहेको छ ।


तारकेश्वर गापां. ३ को १५ आमा समूह र एउटा बा समूहलाई कुल ९ लाख रुपैयाँ गापाको तर्फवाट आर्थिक सहयोग प्रदान गरिएको छ । तारकेश्वरको खानीगाउँस्थित पिपलडाँडामा आयोजित कार्यक्रममा तारकेश्वर गापाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामातामाङले १४ पहिलेको आमा समूहलाई प्रतिसमूह ५० हजार र नयाँ आमा तथा बा समूहलाई प्रतिसमूह एकलाख रुपैयाका दरले कुल ९ लाख रुपैयाँ सहयोग हस्तानतण गरे ।

लमातामाङ र तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारी अविरलले संयुक्त रुपमा उक्त रकम वरावरकोे चेक आमा तथा बा समूहहरुलाई हस्तान्तरण गरेका हुन् । निवर्तमान मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले यसवाट गाउंका आमा तथा बा समूहहरुलाई सामाजिक स्तरको प्रवद्र्धन गर्न मद्धत पुग्ने वताए ।

कार्यक्रममा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारीले महिला सशक्तीकरण अभियान अन्तर्गत तारकेश्वरको ३ मा गठन भएका १४ वटा आमा समूहसँगै हालै गठन भएका एउटा आमा समूह र एउटा बा समूहलाई गाउँपालिकाको महिला तथा ज्येष्ठ नागरिक विशेष कार्यक्रमअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराइएको वताए । अध्यक्ष अधिकारीले महिला स्वावलम्बन, महिला जीविकोपार्जन, महिला सुदृढीकरण र ज्येष्ठ नागरिकको सम्मानका लागि गाउँपालिकाको विशेष कार्यक्रम अन्तर्गत आमा तथा बा समूहहरुलाई सहयोग उपलब्ध गराउँदै आएको वताए ।

आमा तथा बा समूहको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न आमा तथा बा समूहका प्रतिनिधि, विद्यालय परिवार तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।















