बिदुरः राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्ती मनाउन नुवाकोटमा भेला गरिएको छ । भेलाले विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ ।


यही पुस २७ गते आइतवार उक्त दिवस मनाउन सरोकारवालाहरुसंगको भेलाले मेयर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको हो । विदुर नपाको पहलमा गत वर्षदेखि आलोपालो प्रणाली अनुसार कार्यक्रम सञ्चालन गर्ने समझदारी अनुसार यस वर्ष राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्ती नेपाल एकिकरणको सुरुवात भएको नुवाकोटको ऐतिहासिक भूमि साततले दरबार परिसरमा उद्घाटन कार्यक्रम गरेर पृथ्वी स्मारक देवीघाटमा समापन समारोह सञ्चालन गरिने मेयर राजन श्रेष्ठको भनाई छ ।

३०४ औँ पृथ्वी जयन्ती एबं राष्ट्रिय एकता दिवश मनाउने सन्दर्भमा आयोजित भेलाबाट मुल समारोह समितिका साथ बिभिन्न उपसमितिहरु गठन गरिएको छ । पृथ्वीनारायण शाहको देहावसान भएको स्थानलाई राजघाट नामाकरण गर्न माग गरिएको छ ।

सरोकारवाला तथा स्थानीयवासीले लामो समयदेखि उक्त माग गरिरहेको पृथ्वी स्मारक संरक्षण समितिले जनाएको छ । विदुर नपाका मेयर राजन श्रेष्ठले आवस्यक परामर्श तथा छलफलवाट राजघाट वा पृथ्वीघाटमध्ये एउटा नामाकरण गरिने प्रतिवद्धता जनाएका छन् ।














