बिदुरः गृहमन्त्री ओमप्रकाश अर्यालले शनिवार आकस्मिक रुपमा नुवाकोटको निरीक्षण गरेका छन् । उनले एकैदिन नुवाकोटको केन्द्रीय कारागार र जिल्ला कारागारको निरीक्षण भ्रमण गरेका हुन् । नुवाकोटको विदुर नगरपालिका ६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार र विदुर नपा १ ढुंगेमा रहेको जिल्ला कारागारको गृहमन्त्रि अर्यालले स्थलगत निरीक्षण अवलोकन गरेका हुन् ।


अपरान्ह नुवाकोट प्रवेश गरेका गृहमन्त्रि अर्यालले शनिवार नुवाकोटको दुई वटा कारागार र जिल्ला प्रशासन कार्यालयसमेत गरि डेढ घण्टा समय विताए । दुवै कारागार पुगेर अर्यालले अवस्थाका सम्वन्धमा जानकारी लिएका थिए । कारागारमा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालनमा ल्याउने सरकारको निर्णयसंगै त्यसको अवस्थाको आफैंले जानकारी लिन गृहमन्त्रि अर्याल आकस्मिक रुपमा नुवाकोट आइपुगेका हुन् ।

उनले कारागारमा बालबिझ्याइँकर्तालाई राख्नका लागि सरकारले तयारी सुरु गर्ने वताए । उनले सरकारको निर्णयलाई पुरा गर्न सकिने अवस्था रहेको स्थलगत अवलोकनका क्रममा वताए । गृहमन्त्रि अर्यालले पहिले चण्डीपोखरीस्थित केन्द्रीय कारागार, त्यसमा रहेको खाली व्लक, त्यसपछि ढुंगेस्थित जिल्ला कारागारको खाली रहेको व्लक र विदुरमा जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका हुन् ।

उनले सरकार नतिजा दिने तरिकाले काम गरिरहेको र त्यसमा सरकारी संयन्त्रहरुले साथ दिइरहेकोसमेत वताए । जनतालाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्न उनले निर्देशन दिएका छन् । देश र जनताका लागि केहि गर्ने उद्धेश्य सरकारले लिएको छ, सोही अनुसार आफु कारागारको अनजुगमनमा आएको उनको भनाई छ ।
मन्त्रिपरिषद्को यहि पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिझ्याइँकर्तालाई राख्नका लागि नुवाकोटको चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारको कुल चार वटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो । अवलोकनका क्रममा मन्त्री अर्यालले अब बालबिज्याइँकर्तालाई यहाँ खाली गरिएको बाल सुधार गृहमा आवस्यक भौतिक तथा व्यवस्थापकिय सुधार गरि छिट्टै स्थानान्तरण गरिने जनाए ।

सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवासँग केहीबेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र समस्याबारे जानकारी लिएका थिए । सोही क्रममा गृहमन्त्री अर्यालले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राखेका थिए । १८ भन्दा माथिका वालविझ्याइकर्तालाई केन्द्रीय कारागार नुवाकोटको खाली व्लकमा र १८ भन्दा कम उमेरका लागि ढुंगेमा रहेको जिल्ला कारागारको खाली भवनमा राख्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

दुवैतिर गरि करिव पांचसय जना वालविझ्याइकर्तालाई राखिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वताए । गृहमन्त्री अर्यालले कैदीबन्दीको मानव अधिकारको जानकारी लिदै कारागार भित्र हुने हरेक गतिविधि कानूनी र मानव अधिकारका दृष्टिकोणले मर्यादित हुनु पर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिए । यस्तै, कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा कारागारसम्म पुग्ने सडकको पूर्वाधार कमजोर भएको अवगत गराउँदैे सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिबद्धता पनि मन्त्री अर्यालले व्यक्त गरेका छन् ।
नुवाकोटको दुई स्थानमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा पांचसय जना वालविझ्याइकर्तालाई सहज तरिकाले राख्न सकिने छ । नुवाकोटको तीन वटा ब्लकमा गत कार्तिक महिनाको विवरण अनुसार आठसय ७३ जना कैदीबन्दी तथा थुनुवा रहेका छन् ।





