बिदुरः नुवाकोटको त्रिशूली अस्पतालले उतकृष्ट भएका विभिन्न विभाग तथा कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरेको छ । अस्पतालले चालुआर्थिक वर्ष २०८२/०८३ को साउनदेखि गत कार्तिकसम्मको मुल्यांकन गर्दै मासिक तथ्याङ्क सङ्कलन प्रस्तुतिकरण, उत्कृष्ट विभाग र मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरेको छ ।


त्रिशूली अस्पतालको सघन उपचार कक्ष (आइसियु) विभागलाई उत्कृष्ट विभाग घोषणा गरिएको छ । पुरस्कृत गरिएको छ । अस्पतालले मासिक उत्कृष्ट कर्मचारीका रूपमा स्त्रीरोग विशेषज्ञ डा. दीपिका श्रेष्ठ, मेडिकल अधिकृत डा. साहिना खातुन, मेडिकल रेकर्डर आश्रित लामिछाने र कार्यालय सहयोगी मिश्री मिजारलाई सम्मान गरेको छ ।

कार्यक्रममा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउन कर्मचारीको मेहनत, समर्पण र जिम्मेवारीलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार सेवा हुदै आएको छ । दैनिक रुपमा आकस्मिक र नियमितसहित चारसय जना भन्दा वढिको उपचार सेवा हुदै आएको छ ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामा, विदुर नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठलगायतले सम्मान तथा पुरस्कृत गरेका हुन् । कार्यक्रममा ६ दशक अवधि विताएको त्रिशूली अस्पतालका विभिन्न विभागले सो अवधिमा प्रदान गरेका सेवाको तथ्याङ्क प्रस्तुत गर्दै सेवा प्रभावकारिता, कार्यसम्पादन र सुधारका पक्षबारे समीक्षा गरिएको थियो ।











