बिदुरः जंगलबाट निस्केको भालुको आक्रमणबाट नुवाकोटसंग जोडिएको रसुवाको खाल्चेतमा दुई जना पुरुष घाइते भएका छन् । दुवैजनाको काठमाडौमा उपचार भइरहेको छ ।


नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय चेतप्रसाद गजुरेल भालुको आक्रमणमा परि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई उद्धार गरि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । गजुरेल घांस काटिरहेको र तामाङलाइ जिवजिवेबाट खाल्चेत जाने बाटोमा भालुले आक्रमण गरेर घाइते वनाएको जनाइएको छ । घाइतमध्ये तामाङको शरीरमा चोट लागेको छ ।

गजुरेलको घाँटी, टाउको र देब्रे कानमा चोट लागेका कारण गम्भीर घाइते भएका छन् । घाँस काटीरहेको र पैदल हिडिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयबासीले बताएका छन् । भालुले आक्रमण गरेपछि स्थानीय स्वास्थय संस्थामा उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।





