बिदुरः नुवाकोटको बिदुर नगर क्षेत्रमा पिउने पानीको व्यवस्थापन र आपुर्ति गर्दै आएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयां नेतृत्वका लागि शनिवार मतदान सम्पन्न भएको छ । विदुर नगरपालिकाको मिनी निर्वाचनको रुपमा अथ्र्याइएको उक्त निर्वाचनमा ६४ प्रतिशत मत खसेको छ ।


तीन वर्षे कार्यकालका लागि अध्यक्षसहित नौ पदका लागि दुई प्यानलवाट १८ जना चुनावी मैदानमा थिए । दिनैभर भएको मतदानमा दुई हजार तीनसय ४७ मत खसेको छ ।

बिहान ७ देखि वेलुकी ५ बजेसम्म भएको मतदानमा दुई हजार तीनसय ४७ मत खसेको निर्वाचन प्रमुख होमवहादुर थापामगरले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर मत गणना सुरु गरिने र आइतवारसम्म मत परिणाम सार्वजनिक गरिने छ ।

कुल तीनहजार ६सय ६५ मतदाता रहेको उक्त संस्थामा जम्मा ६४ दशमलव ७७ प्रतिशत मात्रै मत खसेको हो । उपभोक्ताको संख्या करिव चारहजार आठसय हाराहारीमा रहेपनि सदस्यता नवीकरण नगरेका कारण जम्मा मतदाता संख्या तीनहजार ६ सय ६५ जना कायम गरिएको थियो ।

उक्त संस्थाको नयां कार्यकालका लागि उपभोक्ताको निर्वाचन भएको छ । उपभोक्तको नेतृत्वका लागि वर्तमान अध्यक्ष सन्जिववहादुर श्रेष्ठ र पुर्व उपाध्यक्ष हरिशरण गजुरेलको प्यानल मैदानमा भिडेका हुन् ।

कांग्रेस एमालेका संयुक्त उम्मेदवारमा श्रेष्ठको नेतृत्वमा चुनावी मैदानमा होमिएको हो । सो प्यानलको उपाध्यक्षमा नवीन प्रधान, कोषाध्यक्षमा अम्बिका खनालचित्रकार, महिला सदस्यमा विन्दादेवी सडौला, महिला सदस्यमा सरिता अधिकारी, खुल्ला सदस्यहरुमा शंकर पाण्डे, दीपकवहादुर तिमिल्सिना र गोविन्दबहादुर अधिकारीले प्रतिस्पर्धा गरेका हुन् ।

यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार बनेका हरिशरण गजुरेलको नेतृत्वमा उपाध्यक्षमा राजेन्द्र पाण्डे र सचिवमा रघुनाथ रिमालले प्रतिस्पर्धा गरेका हुन् । उक्त समूहबाट कोषाध्यक्षमा संगिता कोइराला, सदस्यहरुमा चिरम्यल तामाड ,मुरारी नेपाल, सुमन अधिकारी, दीपक कुमाल र सरस्वती न्यौपानेले प्रतिस्पर्धा गरेका छन् ।













