बिदुरः आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गर्दै नुवाकोटमा विभिन्न तयारीहरु सुरु भएको छ । अन्र्तक्रिया, मतदानस्थल, मतदान केन्द्र तथा सुरक्षा अवस्थाका वारेमा कार्यक्रमहरु गरिएका छन् ।

काठमाडौसंग जोडिएको पहाडि संरचनाको नुवाकोट जिल्लाका दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र, चार प्रदेश सभा क्षेत्र, १२ स्थानीय तह तथा ८८ वटा वडाहरु रहेका छन् । गत २०७९ को प्रदेश तथा प्रतिनिधि सभाको भन्दा यस पटकको निर्वाचनमा मतदाता वढ्ने जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा एकसय ३२ वटा मतदानस्थल छानिएको छ । निर्वाचन आयोगले भौगोलिक अवस्था, जनघनत्व, पहुँच, सुरक्षा स्थिति तथा मतदाताको संख्या हेरेर स्थल निर्धारण गरेको हो । उक्त मतदानस्थलमा दुईसय ८७ मतदान केन्द्र कायम गरिएका छन् । तीन वर्ष अगाडिको निर्वाचनमासमेत सोही मतदान केन्द्रहरु कायम रहेको जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरको भनाई छ ।
मतदाता नामावली संकलन सकेर रुजु गर्ने कार्य अन्तिम चरणतर्फ अघि बढेसँगै नुवाकोटमा निर्वाचनको चहलपहल बढेको छ । मतदाता नामावली दर्ता गर्नहरुमा युवा, नयाँ बसाइँ सराइ गरेका नागरिक तथा पहिलो पटक मतदान अधिकार प्रयोग गर्न चाहनेहरूको उपस्थिति उल्लेख्य रहेको थियो ।

नुवाकोटमा रहेको १२ स्थानीय तह तथा सबै एकसय ३२ मतदान स्थलमा निर्वाचन तयारी सुरु भएको जनाइएको छ । निर्वाचन कार्यालयका कर्मचारी रमेश श्रेष्ठले निर्वाचन सहज, स्वच्छ र व्यवस्थापनयुक्त बनाउन सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी तीव्र पारिएको बताए ।





