बिदुरः नुवाकोटको सदरमुकाम क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्दै आएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयां कार्यसमितिको चयनका लागि निर्वाचनको प्रक्रिया सुरु भएको छ । मिनी स्थानीय तहको झल्को दिने गरि उक्त संस्थाको निर्वाचनमा दलहरु प्यानलै वनाएर नयां कार्य समितिको निर्वाचनमा उम्मेदवारलाई उतारेका छन् ।


आगामी तीन वर्षै कार्यकालका लागि नौ सदस्यीय कार्यसमितिमा दुई प्यानलका १८ जना उम्मेदवारहरु चुनावमा होमिएका छन् । उक्त समितिको नयां कार्य समितिका लागि मिनी निर्वाचनको झल्को दिदै दलका प्रतिनिधिहरु उम्मेदवार भएका छन् । उक्त संस्थाको निर्वाचनमा नयां कार्य समिति चयनका लागि यहि मंसिर १३ गते शनिवार तनिहजार ६ सय ६५ उपभोक्ताले मतदान गर्नेछन् । मतदानका लागि नुवाकोट आदर्श वहुमुखि क्याम्पसमा विहान सात वजेदेखि वेलुकी पांचवजेसम्म समय तोकिएको छ ।

विदुर नगरपालिकाको विभिन्न स्थानमा पिउनेपानीको वितरण तथा व्यवस्थापन गर्दै आएको उक्त संस्थाको निर्वाचनका लागि वर्तमान अध्यक्ष सन्जिववहादुर श्रेष्ठ र पुर्व उपाध्यक्ष हरिशरण गजुरेलको प्यानल चुनावी मैदानमा छ । दुवै प्यानल चुनावी प्रचारप्रसारमा तिव्र रुपमा खटिएका छन् । उक्त संस्थाको नयां कार्यसमितिका लागि सदस्य उपभोक्ताहरु चुनावी मैदानमा रहेका छन् । यद्यपि, दुवै पयानललाई विभिन्न दलले साथ तथा समर्थन गरेका छन् ।

दल विशेषको नभई उपभोक्तावीचको निर्वाचन भएको उनीहरु वताउंछन् । निर्वाचनमा सन्जिववहादुर श्रेष्ठको प्यानललाई नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्र समर्थन गरेको छ । हरिशरण गजुरेलको प्यानललाई नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, रास्वपा, जेनजी समर्थितले समर्थन गरेका छन् । मतदानका लागिष् जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरको संयोजकत्वमा निर्वाचन टोली परिचालन भएको छ ।

विदुर नगरपालिकाको मिनी चुनावको रुपमा हेरिएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उक्त निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु उपभोक्ताका घरदैलोमा पुग्न थालेका छन् । नेपाली कांग्रेस एमालेका संयुक्त उम्मेदवारहरु आफ्ना घोषणापत्रसहित उपभोक्ताको घरदैलोमा पुगिरहेका छन् । संगसंगै हरिशरण गजुरेलको प्यानल पनि घरदैलोमा पुगिरहेको छ ।

कामको अनुभव र विदुरको खानेपानीको समस्याप्रति जानकार रहेको सञ्जिवबहादुर श्रेष्ठको नेतृत्वको प्याननले आगामी दिनमा खानेपानी संस्थालाई ऋणमुक्त बनाउने र विदुरबासीको सफा र स्वच्छ खानेपानी खाना पाउने अधिकारलाई पूरा गर्ने प्रतिवद्धताकासाथ मतदाता रिझाउन लागि परेका हुन् । कांग्रेस – एमाले गठबन्धनबाट वर्तमान अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठको नेतृत्वमा चुनावी मैदानमा होमिएको हो । विगतमा खानेपानी समस्याको समाधानका लागि खटिएका र अझै केही गर्ने प्रतिवद्धताकासाथ उक्त समूहमा युवा तथा सामाजिक प्रतिष्ठा स्थापित भएका पात्रहरु रहेकाले पनि मतदाताको विश्वास जित्न सहज हुने नेपाली कांग्रेसका सचिव श्रीराम श्रेष्ठको भनाई छ ।

सन्जिववहादुर श्रेष्ठको नेतृत्वमा उपाध्यक्षमा नवीन प्रधान, सचिवमा अच्युतराज महन्तगिरी, कोषाध्यक्षमा अम्बिका खनालचित्रकार, महिला सदस्यमा विन्दादेवी सडौला, र सरिता अधिकारी, खुल्ला सदस्यहरुमा शंकर पाण्डे, दीपकवहादुर तिमिल्सिना र गोविन्दबहादुर अधिकारीले प्रतिस्पर्धा गरेकाछन् । हरिशरण गजुलेको नेतृत्वमा उपाध्यक्षमा राजेन्द्र पाण्डे र सचिवमा रघुनाथ रिमालले प्रतिस्पर्धा गरेकाछन् ।

उक्त समूहबाट कोषाध्यक्षमा संगिता कोइराला, महिला सदस्यहरुमा चिरम्यल तामाड., सरस्वती न्यौपाने, मुरारी नेपाल, सुमन अधिकारी, दिपक कुमालले प्रतिस्पर्धा गरेका छन् । पहिले झण्डै ४ हजार आठसय उपभोक्ता रहेको उक्त संस्थामा धेरैले पानीको जिल नातिरेका कारण मतदाता संखया तीनहजार ६ सय ६५ जना मात्र उपभोक्ताले मतदान गर्ने गरि सदस्यता नविकरण गराएको संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

उक्त निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका कारण पनि खानेपानीको निर्वाचन निकै रोचक बनिरहेको छ । विगतमा राजनीतिक दलमा आवद्धहरुकै असन्तुष्ट समूहले निर्माण गरेको गजुरेल प्यानलका उम्मेदवारहरु पनि जेजनी आन्दोलनपछि मौकाको सदुपयोग गर्ने दाउँमा रहेका छन् ।
यससंगै निर्वाचन थप रोचक बन्ने उपभोक्ताहरुको बुझाई रहेको छ । दुवै प्यानलको विशेष सक्रियताका पनि उत्साहजक रहेको उपभोक्ताहरु वताउंछन् ।

नुवाकोटकै धेरै उपभोक्ता रहेको उक्त संस्था यतिखेर ३० करोड रुपैया ऋणमा रहेको छ । संस्थामा आम्दानी थोरै र ऋणको ब्याज र किस्ता बुझाउँनु पर्ने रकम धेरै भएकाले संस्था आर्थिक संकटमा रहेको छ । संस्थाले विदुर नगरपालिकाले ऋण तिर्न सहयोग गर्न आग्रह समेत गर्दै आएको छ । उक्त संस्थाको नयां कार्यसमिति चयनका लागि तय भएको मतदानलाई ‘विदुर नगरकै मिनी चुनाव’को रूपमा लिइएको छ ।

कांग्रेस र एमाले दुई दलबीच भएको संयुक्त प्यानलमा नेकपा एमालेले अध्यक्षसहित ४ र नेपाली कांग्रेसले सचिवसहित ५ जना उम्मेदवार खडा गरेर मैदानमा खटिएका छन् । विदुर नगरपालिकाको विभिन्न वडाहरुमा खानेपानीको व्यवस्थापन गर्दै आएको उक्त संस्थामा नगरपालिकाको जनमत कस्को पक्षमा छ भन्ने मिनी चुनावको रुपमासमेत हेरिएको उक्त संस्थामा यसअघि नेकपा एमालेको नेतृत्व रहेकोे थियो ।

निष्पक्ष, पारदर्शी र विवादरहित रुपमा उपभोक्ताको कार्य गरेका कारण आफुलाई अधुरा काम पुरा गर्नका लागि पुनः एक पटक उपभोक्ताहरुले विस्वास गर्ने अध्यक्षका उम्मेदवार सन्विववहादुर श्रेष्ठ वताउंछन् । उनले आफुले सदैव उपभोक्ताका लागि फिल्डमै गएर काम गरेकाले पनि आफ्नो मेहनत उपभोक्ताले वुझेको र एक पटक पुनः आफुलाई जिताउने भन्दै श्रेष्ठ ढुक्क छन् ।

प्यानलै वनाएर चुनवमा भिडेका अर्का अध्यक्ष हरिशरण गजुरेल संस्थामा आफुले विगतमा उपाध्यक्षलगायत अन्य पदमा रहेर कार्य गरिसकेको र उपभोक्ताका लागि काम गर्न चाहेको वताए । उपभोक्ताले विस्स्वास गरेर आफुलाई काम गर्ने अवसर दिने उनको भनाइृ छ । तीन वर्ष अगाडि सो संस्थामा एमालेको समर्थनमा नै सञ्जिवहादुर श्रेष्ठले भारी मतकासाथ निर्वाचित भएका थिए । यस पटक पनि कांग्रेस एमालेबीचको संयुक्त प्यानलमाथि उपभेक्ताको विस्वास निश्चित रहेको एमाले नुवाकोटका सचिव शिवकुमार चित्रकारको भनाई छ ।
कतिपयले दुई महिना अगाडिको जेजनी आन्दोलनपछिको प्रभाव यस निर्वाचनमा परेको वताउंछन् । संस्थाले वितरण गर्दै आएको खानेपानी, आर्थिक समस्या, थोरै आम्दानी र भारी ऋणभार मतदाताबीच बहसको विषय बनेको छ । संस्थाले विदुर नगरपालिकासँग ऋण तिर्न सहयोग गर्नुपर्ने वताउंदै आएको छ, जसले संस्थाको आर्थिक अवस्थालाई स्पष्ट बनाएको उपभोक्ताहरू बताउँछन् । उपभोक्ता संख्याका आधारमा यो नुवाकोटकै सबैभन्दा ठूलो उपभोक्ता संस्था भएकाले पनि जित निकाल्न यसपटकको प्रतिस्पर्धा दुवै प्यानलको प्रतिष्ठाको विषय बनेको छ ।





