बिदुरः नुवाकोटको विदुर नगर क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्दै आएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २५ हजार जनसंख्यालाई प्रत्यक्ष पिउने पानीको सेवा प्रदान गरिरहेको छ । उक्त संस्थाले आफ्ना दुई कर्मचारीलाई सम्मानित गरेको छ । संस्थाको सोमवार १० औं वार्षिक साधारण सभा सुरु भएको छ । साधारण सभाले आगामी तीन वर्षका लागि नयां कार्यसमितिसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।


विदुर खानेपानीमार्फत झण्डै पांचहजार घरधुरीका २५ हजार जनसंख्याले पिउने पानीको उपभोग गरिरहेको अध्यक्ष सन्जिववहादुर श्रेष्ठले वताए । उनका अनुसार विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रदान गर्दै आएको सेवाबाट कुल चारहजार आठ घरधुरीका २५ हजारभन्दा बढी नगरवासी लाभान्वित भइरहेका छन् ।
संस्थाका अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदनमा विदुर नगरक्षेत्रका बासिन्दालाई स्वच्छ पानी र सरसफाइ सेवा नियमित रूपमा उपलब्ध गराइँदै आएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार सेवा विस्तार र स्तरोन्नतिको कामलाई आगामी वर्षलाई प्राथमिकतामा राखिएको छ ।

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १०औं वार्षिक साधारणसभा सुरु भएको छ । उद्घाटन कार्यक्रममा संस्थाले कार्यक्षेत्रमा उत्कृष्ट योगदान गरेका दुई जना कर्मचारीलाई सम्मानित गरेको छ । संस्थाको सेवा कार्यलाई प्रभावकारी बनाउन र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गरेको कारण संस्थाको कार्यालय सहायक आयुष अधिकारी र फिल्ड क्षेत्रमा कार्यरत मिटर रिडर राजु सिलवाल सम्मानित भएका छन् ।

सम्मानित कर्मचारीहरूलाई संस्थाका जेष्ठ सदस्य तथा साधारण सभाका प्रमुख अतिथी बसन्तलाल श्रेष्ठ, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, पुर्व मेयर सन्जु पण्डित, संस्थाका अध्यक्ष सन्जिबबहादुर श्रेष्ठ, संस्थाका पुर्व अध्यक्षहरुले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरि सम्मानित गरेका हुन् ।

साधारणसभामा आयोजित कार्यक्रममा रिजाल र सिलवाललाई संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको हो । कर्मचारीहरूको मनोबल उच्च राख्न र कार्यसम्पादनमा प्रभावकारिता ल्याउन उक्त सम्मान प्रदान गरिएको संस्थाका उपाध्यक्ष नवराज न्यौपानेले वताए ।

यसका साथै, कार्यक्रममा डिहीगाउँ धैबुङ्ग खानेपानी सुरक्षा एवं सरसफाई समूहलाई सम्मानित गरिएको छ । १३ गतेसम्म सन्चालन हुने उक्त संस्थाको साधारण सभाले अध्यक्षसहित नौ पदमा नयां कार्यसमिति चयन गर्नेछ भने उक्त हाल संस्थामा २८ कर्मचारीहरु कार्यरत रहेका छन् ।

कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, एमालेका जिल्ला सचिव शिवकुमार चित्रकार, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, विदुर नपाका पुर्व मेयर सनजु पण्डित, उद्योेग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नागरिक समाजका अध्यक्ष वद्री त्रिपाठी, संस्थाका पुर्व अध्यक्षहरु ओमप्रकाश श्रेष्ठ, मोहनवहादुर खड्का, राप्रपाका अध्यक्ष कुलवहादुर खड्गी, रास्वपाका अध्यक्ष रामेश्वर गजुरेल, नकपा नुवाकोटका वद्रीप्रसाद प्याकुरेललगायतले पिउने पानीको स्वच्छता, उपलव्धता र गुणस्तरियताका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।






















