बिदुरः शिक्षण सिकाइमा जोड दिदै नुवाकोटको सदरमुकामको एक विद्यालयले पठनपाठनलाई प्रभावकारी वनाउने उद्धेश्यसहित नयां शैक्षिक अभियान सन्चालन गरेको छ । कार्यक्रम अन्र्तगत विद्यार्थीको अभिभावकसंग घरमै पुगेर शैक्षिक कार्यक्रम सन्चालन गर्ने अभियान सुरु भएको छ ।


विदुर नगरपालिका २ बट्टारमा रहेको भीमसेन माविले “अभिभावकसँग भीमसेन अभियान“ सन्चालन गरेको हो । उक्त अभियान अन्र्तगत आफ्ना विद्यार्थीका अभिभावकलाई घरमै पुगेर प्रत्यक्ष रुपमा शैक्षिक सम्वाद कार्य सुरु भएको छ ।

शैक्षिक प्रभावकारिता र विकासमा नयां कार्यक्रमसहित सन्चालित अभियान अन्र्तगत शिक्षक, विद्यालय वयवस्थापन समितिका पदाधिकारी, सदस्यहरु विद्यार्थीको घरमै पुगेर शैक्षिक गतिविधिका सम्वन्धमा छलफल, जिज्ञासा, सवाल जवाफ तथा निचोड निकाल्ने क्रम सुरु गरिएको विद्यालयले जनाएको छ ।

बिद्यार्थीहरुको पढाईलाई राम्रो बनाउने तथा अभिभावकहरुलाइ पनि आफ्ना नानिबाबुको सिकाइप्रति क्रियाशील बनाउने उद्धेश्यले सुरु गरिएको सो अभियान अन्तर्गत शुक्रवारसम्म २० जना भन्दा वढि छात्रछात्राको घरमा पुगेर कार्यक्रमसंगै अभियान गरिएको प्रधानाध्यापक विष्णु पौडेलले वताए । उनका अनुसार अभियान अन्र्तगत विद्यार्थीको घरमै पुगेर शिक्षक, अभिभावक, विद्यार्थीसंग सामूहिक शैक्षिक छलफल गर्ने कार्य गरिएको हो ।

विद्यार्थीको घरमा पुगेर विद्यार्थीको शैक्षिक वातावरण, घरको शैक्षिक सहयोग, अध्ययनमा परेका समस्याहरुका विषयमा पहिलो पटक उक्त अभियान सन्चालन गरिएको विद्यालय वयवस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठको भनाई छ । सो विद्यालयमा हाल दुई सय ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।








