बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको थानापतिमा आफ्नै घरको कम्पोष्ट मलको ढिस्काले पुर्दा स्थानीय एक व्यक्तिको ज्यान गएको छ । पोष्टमार्टम गरि शव परिवारलाई जिम्मा लगाइएको छ ।


सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेकोे शिवपुरी गाउंपालिका ८ थानापतिस्थित नारायणडाँडाका ५९ वर्षिय देवीवहादुर उप्रेतीको आफ्नै घरको पशुचौपायाको कम्पोष्ट मल व्यवस्थापन गर्ने क्रममा शुक्रवार मलको ढिस्को खसेर पुरिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको शव पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

घर नजिकै छेउमा रहेको गाई–वस्तुको कम्पोष्ट मल खन्दै गर्दा माथिबाट मल उनको शरिममा खस्दा उनी पुरिएका थिए । उनको परिवारका सदस्यले उद्धार गरे पनि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय थानापतिवासी स्तब्ध भएका छन् । मिलनसार, सहयोगी, सबैसँग आत्मीय व्यवहार गर्ने स्वभावका मृतक उप्रेती थानापति वडा कार्यालयका पुर्व कर्मचारी हुन् ।






