बिदुरः बालाचतुर्दशीको अवसरमा नुवाकोटको बिभिन्न शिवधाम तथा महादेव मन्दिरहरुमा सतविज छर्ने मेला सम्पन्न भएको छ । विदुर नगरपालिका ५ देवीघाटमा रहेको शिवधामलगायत नुवाकोटका विभिन्न धाममा रहेका शिव मन्दिर तथा देवालयहरुमा सतविज छर्नका लागी रातभर जाग्राम वसेर हजारौं सर्वसाधारणले आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दे वुधवार विहान सतविज् छरेका हुन् ।


नुवाकोटको देवीघाटस्थित शिवधाम, तारुकाको तारकेश्वर, वेत्रावति, कविलास, थानसिङ, छहरेलगायतका स्थानमा रहेका शिव मन्दिरहरुमा हजारौं भक्तजनको भिड लागेको थियो । देवीघाटमा रहेको शिवधाममा यस वर्ष हजारौंले आफ्ना दिवंगत पितृहरुको सम्झनामा विदुर नगर क्षेका साथै आसपासका विभिन्न स्थान तथा रसुवा, धादिङ, काठमाडौवाट समेत सर्वसाधारण रातभर जाग्राम वसेर महाद्विप प्रज्वलन गरि वुधवार विहान शिवधाम परिसर तथा त्रिशूली नदी किनारामा सतविज छरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अनुसार वालाचतुदर्शीको अवसरमा रातभर शिवधाममा महाद्विप प्रज्वलन गरेर वुधवार विहान सतविज छर्ने सर्वसाधारण गत वर्षको तुलनामा ५० वढेको स्थानीय जालपाक्षेत्र विकास समितिका उपाध्यक्ष नवीन चित्रकारको भनाई छ । उनका अनुसार शिवधाममा महाद्विप प्रज्वलन गरेर सतविज छर्ने भक्तजनहरुको सुविधाका लागि समिति र विदुर नपाले २० थान टेण्ट राखिदिएको थियो ।

विदुर नपा ५ देवीघाटमा रहेको प्रसिद्ध शिवधाम, तारकेश्वर, कविलासको राक्सेश्वर, थानापति मन्दिर परिसरमा सतविज छर्नका लागी भक्तजनको विशेष मेला लागेको थियो । सर्वसाधारण रातभर जाग्राम वसेर महाद्विप प्रजवलन गर्दै विहानको समयमा सतविज छरेर आफ्ना दिवंगत पितृहरुको उद्धार हुने र वैकुण्ठ वास हुने कारण भक्तजनहरु शिव मन्दिरमा पुगेर व्रत वसि महाद्विप पनि प्रज्वलन गर्ने गरेको शिवधामका पुजारी हरिप्रसाद सापकोटाले वताए ।

महाद्विप प्रज्वलन गरि सतविज छर्नेहरुले सम्पुर्ण मानव कल्याण र विश्वशान्तिको कामना गरेको उनको भनाई छ । देवीघाटको शिवाधाममा १० हजार सर्वसाधारणले द्विप प्रज्वलन गर्नुका साथै भगवान शिवको पुजाअर्चना गर्दै सतविज छरेका हुन् ।

शिवधामका साथै बट्टारको राम मन्दिर, वट्टार हावाघरको श्रीकृष्ण मन्दिर, दुङ्गेमा रहेको शिब मन्दिर, त्रिशूलीको राम मन्दिर, कोलोनीको शिब मन्दिरलगायतका मन्दिरहरुमा सतविज छर्नका लागी भक्तजनको भक्तजनहरुको भिड लागेको थियोे । शिवधाममा व्राम्हण, क्षेत्री, आदिवासी जनजाती, नेवारलगायत सवै समुदायका सर्वसाधारणले महाद्विप प्रज्वलन गरि सतविज छरेका थिए ।

आफ्नी दिवंगत आमाको स्मृतिमा परिवारसहित राक्सेश्वर मन्दिर पुगेर महाद्विप प्रज्वलन गरेर वुधवार मन्दिर परिसरमा सतविज छरेको लिखुको छहरेका विक्रम आचार्यले वताए । रातभर द्विप प्रज्वलन, भजकिर्तन गरि पुरोहितद्वारा पुजाआजा गरेर सतविज छरिएको उनले वताए ।

रातभर जाग्राम वसेर विहान शिव मन्दिर तथा त्रिशूली नदीको किनारामा विभिन्न गेडागुडीको सतविज छर्ने पुरानो परम्परागत चलन कायमै रहेको पुरोहित अनन्त रिजालले वताए । उनका अनुसार रातभर जाग्राम वसेर महाद्विप प्रज्वालन गरि भोलीपल्ट सतविज छर्दा पितृहरुको स्वर्गमा बास हुने र धार्मिक कर्म पुरा हुने परम्परा रहेको छ ।

मन्दिर परिसरमा रातभर भजनकिर्तन गरिनुका साथै तीर्थालुहरुको सुविधाको लागि उचित रुपमा सुरक्षा प्रवन्ध गरेको थियो । यसका साथै नुवाकोटको कोलोनी, कविलासका रहेको शिव मन्दिरमा सतविज छर्ने विशेष पुजाआजा सम्पन्न भएको छ ।














