बिदुरः गुणस्तरियताको गुनासो आएपछि नुवाकोटसंगै जोडिएको रसुवाका होटेल तथा रेष्टुरेण्टहरु अनुगमन गरिएको छ । सांढे एकलाख रुपैया जरिवानासमेत गरिएको छ । संयुक्त बजार अनुगमनको टोलीले हिमाली रसुवाको सदरमुकाम धुञ्चेमा रहेका होटेल, रेस्टुरेन्ट, लज र खाजाघरको एकैपटक छड्के अनुगमन गरेको हो । टोलीले अनुगमन गरि धुञ्चेका २४ होटेल र रेस्टुरेन्ट अनुगमन गरेको हो ।


ऋनुगमन टोलीले २४ वटा होटेल तथा रेष्टुरेण्टहरु अनुगमनका क्रममा मापदण्ड विपरित पाइएका १८ वटा होटेल रेष्टुरेण्टलाई जरिवाना गरेको छ । कुल १ लाख ४५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीको भनाइृ छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, स्वास्थ्य कार्यालय, राजस्व अनुगमन शाखा, र प्रहरी प्रतिनिधि समेत सहभागी थिए ।

अनुगमन टोलीले होटेल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई मापदण्ड अनुसार नियमित सरसफाइमा ध्यान दिन, बिल प्रणाली लागू गर्न, कर तथा नविकरण प्रक्रिया पुरा गर्न र उपभोक्तामैत्री सेवा प्रवाह गर्न निर्देशन दिएको छ । अनुगमन टोलीले सरसफाइमा कमी, मूल्यसूची नटाँस्ने, विल नदिने, व्यवसाय नविकरण नगरेका, कर चुक्ता नगरेका लगायतका कारण देखाउँदै २४ वटा होटेल तथा रेष्टुरेण्टलाई कारबाही गरेको हो । प्रशासनका अनुसार अनुगमनका क्रममा व्यवसायीहरूलाई कानुनी दायित्वबारे सचेत गराउँदै पुनः त्यस्ता त्रुटि नगर्न निर्देशन दिइएको छ ।

टोली संयोजक अधिकारीका अनुसार अनुगमनबाट कुल एक लाख ४५ हजार रुपैयाँ रुपैयाँ जरिवाना असुल गरिएको छ । यसअन्तर्गत कारवाहीमा परेका २४ मध्ये धुञ्चेमा रहेको होटेल नमस्ते गोसाइँकुण्डलाई २० हजार रुपैयाँ र नमस्ते सनसाइन होटललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । बाँकी होटल र रेस्टुरेन्टहरूलाई जनही न्यूनतम ५ हजार जरिवाना गरिएको प्रशासनले जनाएको छ । संयुक्त बजार अनुगमनलाई निरन्तर गरिने प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा प्रशासनले बजार, होटेल, लज, रेस्टुरेन्ट, खाजाघर र अन्य व्यवसायिक कार्यहरूको सेवा गुणस्तर, सरसफाइ, मूल्यसूची, बिल प्रणाली, कर चुक्ताको अवस्था र कानुनी पालना परीक्षण गरेको थियो । प्रशासनले अन्त्यमा अनुगमनमा सहकार्य गर्ने सरोकारवाला निकाय, व्यवसायी र स्थानीयहरूलाई धन्यवाद दिँदै बजार व्यवस्थापन र सेवा सुधारमा निरन्तर प्रयास जारी रहने दावी गरेको छ । साथै, प्रशासनले छड्के अनुगमन कार्य नियमित रूपमा अघि बढाइने जनाएको छ ।





