बिदुरः बिग्रिएको सडक पुर्ननिर्माण नगरेका कारण यात्रु तथा यातायात दुर्घटनाको जोखिम बढेको जनाउंदै शुक्रवार छहरे–टोखा सडकमार्ग वन्द गरिएकोमा सहमतिपछि खुलेको छ । सरोकारवालावीच भत्केको सडक पुर्ननिर्माण गर्ने सहमतिपछि शुक्रवार अपरान्हदेखि यातायात सन्चालन भएको हो । काठमाडौ प्रवेशका लागि छोटो दुरीको वालाजु–टोखा–छहरे–त्रिशूली सडकमार्गको वीचमा रहेको लिखु गाउँपालिका–६ छहरेस्थित सडक कालोपत्रे गर्नुपर्ने मागसहित शुक्रबार बिहानैदेखि स्थानीयवासीले सडकमार्ग अवरुद्ध गरेका थिए ।


स्थानीयवासी, जनप्रतिनिधि, सडक कार्यालयका प्राविधिक तथा सुरक्षाकर्मीबीच छलफलपछि स्थानीयहरूले अवरोध हटाइ सडक पुनःसन्चालन भएको हो । सो सडकमार्ग भत्किएको, खाल्डाखुल्डी मर्मत नगरेको धुलो–धुवाँ र जोखिम बढेको जनाउंदै स्थानीयले सडक बन्द गरेकोमा सहमतिपछि सडक सुचारु भएको सडक डिभिजन नुवाकोटले जनाएको छ । सडक मार्ग बन्द गरिएका कारण नुवाकोटका विभिन्न स्थानका साथै त्रिशुली, विदुर, ढिकुरे, दुप्चेश्वर, कविलास, रसुवालगायत स्थानबाट काठमाडौं जाने र उक्त स्थानतर्फ जाने सयौं सवारी साधनहरु वीच वाटोमै अवरुद्ध भएका थिए ।

सहमति अनुसार तीन दिनभित्र उक्त स्थानमा भत्किएको सडक कालोपत्रे गर्ने सहमति भएको छ । तत्काल जोखिम हटाएर मर्मत तथा कालोपत्रे कार्य सुरू गर्ने र तोकिएको समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । उक्त सडक तत्काल पुर्ननिर्माण तथा मर्मत कार्य अघि नबढाए थप आन्दोलन गरिने स्थानीयको भनाई छ । यसअघि, सडकमार्ग वन्द भएका वेला त्रिशूलीबाट काठमाडौं जानको लागि देवीघाट–गल्छी हुँदै काठमाडौं र काठमाडौंवाट त्रिशूली आउनका लागि नागढुङ्गा– खानीखोला–गल्छी हुँदै आवतजावत गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।





