बिदुरः नुवाकोटको देवीघाटमा रहेको देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाको भोजनका लागि खाद्यान्न प्राप्त भएको छ । यसका साथै दैनिक खानाका लागि विभिन्न व्यक्ति तथा समूहमार्फत आर्थिक सहयोगसमेत जुटेको छ ।


विदुर नगरपालिका ५ देवीघाटमा रहेको उक्त प्रतिष्ठानलाई बिदुर नपा १० गेर्खुटारका गेर्खुटार कालिका नौमती बाजा समूहले एकैपटक खाद्यान्न प्रदान गरेको छ । प्रतिष्ठानमा आश्रित वृद्ध बा आमाहरुलाई भोजन गराउनको लागि सो समूहले चामल ५५ किलोग्राम चामल,, तेल १ बाक्सा, बिस्कुट १ बाक्सा, दाल ५ केजी, चिनी ५ केजी, चियापति १ केजी, जिरा १ केजी, धनिया १ प्याकेट र बेसार १ प्याकेट हस्तान्तरण गरेका हुन् ।

यस्तै, लिखु गाउँपालिका ४ चौघडा बगैंचा घर भई उक्त प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका दीपकराज न्यौपानेको नाती रोजेस न्यौपानेले प्रतिष्ठानलाई इच्छा भोजनको लागि एकमुष्ठ १६ हजार रुपैया प्रदान गरेका छन् । उक्त रकमले वृद्धाश्रममा आश्रित ४० जना वृद्ध बाआमाहरूलाई इच्छा भोजन गराइएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकार दिए ।

यसैवीच, नुवाकोटकै दुप्चेश्वर गापा ६ समुद्रटारका स्व. टोकप्रसाद आचार्यको प्रथम वार्षिक पुण्यतिथिको सन्दर्भमा उहांका परिवारजनले प्रतिष्ठानमा आश्रित सम्पूर्ण वृद्ध बाआमाहरूलाई दैनिक भोजनको लागि नगद १० हजार रुपैया प्रदान गरेका छन् । उक्त रकमवाट दैनिक रुपमा आवस्यक भोजनका सामग्रीहरु खरिद गरिएको अध्यक्ष नेपालको भनाई छ ।

यता, देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा “स्वास्थ्य र सिर्जना का लागि पदयात्रा “भन्ने नाराको साथ स्रष्टा पदयात्रा नेपालको ९९ औँ पदयात्राको क्रममा सहभागीहरुवाट आर्थिक सहयोग प्राप्त भएको छ । प्रतिष्ठानलाई स्रष्टा पदयात्रा नेपालका तर्फबाट नगद आठहजार रुपैया प्रदान गरिएको छ ।





