बिदुरः प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाम परिसरमा स्थापनाका लागि गणेशको ठुलो मुर्ति प्राप्त भएको छ । धान्युपुर्णिमाका अवसरमा नजिकैदै गरेको दुप्चेश्वर मेलालाई लक्ष्यित गरेर गणेशको मुर्ति राखिएको छ । दुप्चेश्वर गापा ६ करेजुङको पहरामा पशुपतिनाथको पर्यायको रुपमा रहेको प्रसिद्ध दुप्चेश्वर मन्दिर रहेको छ । प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाम परिसरमा विविध संरचना निर्माण गरिएको छ ।


दुप्चेश्वर मेलालाई लक्ष्यित गरेर विभिन्न नयां तथा मौलिक संरचनाहरु निर्माण भइरहेको छ । सदरमुकाम विदुरवाट एक घण्टा र काठमाडौवाट मोटरमा दुई घण्टामा पुगिने पवित्र, प्रसिद्ध, धार्मिक, पर्यटकिय तथा ऐतिहासिक क्षेत्र दुप्चेश्वर धामको वृद्धि र विकासमा विविध कार्यहरु भइरहेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । सोही क्रममा नुवाकोटकै वेलकोटगढी नगरपालिका १३ का युवक रुपक लोहनीले दुप्चेश्वर मन्दिरमा स्थापनाका लागि ४ फिट अग्लो भगवान श्रीगणेशको पित्तलको मुर्ति हस्तान्तरण गरेका हुन् । उनले मंगलवार दुप्चेश्वर धाम पुगेर आफुले सामाजिक सहयोगका रुपमा खरिद गरेर ल्याएको गणेशको मुर्ति मन्दिरका पदाधिकारी, जनप्रतिनिधि, कोषका प्रतिनिधिलगायतलाई हस्तान्तरण गरे ।

निस्वार्थ भावनाले सामाजिक सहयोग गरेका लोहनीसहित उनका परिवारलाई मन्दिरका पदाधिकारी, जनप्रतिनिधि, कोषका प्रतिनिधिलगायतले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरि सम्मान गरेका छन् । लोहनीले आफुले सानमाजिक सेवाको भावना अनुसार निरन्तर सहयोग गरिरहने वताए । कार्यक्रममा दुप्चेश्वर गापा उपाध्यक्ष माकुरी तामाङ, दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ, पुजारी भगवानहरि धिताल, आरति समिति संयोजक रामेश्वर धिताल,सह-संयोजक राजन कुँइकेल तथा सरोकारवाला निकायले हिन्दु वौद्ध मार्गीहरुको आस्थाको केन्द्र दुप्चेश्वरको मेलाको यस वर्ष विशेष रुपमा तयारी भइरहेको वताए ।

मेलालाई लक्ष्यित गरे पक्कि र आधुनिक संरचना निर्माण कार्य भइरहेको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठको भनाई छ । दुप्चेश्वरमा जान काठमाडौ तथा नुवाकोटवाट मोटरवाटोको सुविधा रहेको छ । मन्दिर भन्दा तल परिसरमा विविध संरचना निर्माण र ४० रोपनी जग्गा सम्याउने कार्य गरिएको छ । प्रत्येक शनिवार, सोमवार, विहीवार, धान्यपुर्णिमा र शिवरात्रीमा दुप्चेश्वरमा भक्तजनहरुको विशेष मेला लाग्ने गरेको छ ।








