बिदुरः हरिबोधनी एकादशीको अवसरमा नुवाकोटको विभिन्न स्थानमा लाग्ने मेलाको विशेष तयारी गरिएको छ । भक्तजनहरुको सुविधाका लागि विभिन्न स्थानमा टेण्ट तथा त्रिपाल राखिएको छ ।


ठुलो एकादशीको रुपमा पुजिदै आएको हरिबोधनी एकादशीको अवसरमा नुवाकोटको प्रसिद्ध जालपादेवीलगायत विभिन्न स्थानमा महाद्विप बाल्नेहरुको भीड लाग्ने गर्दछ । नेपालकै ऐतिहाँसिक तथा पवित्र धार्मिक स्थल तादी र त्रिशूलीको दोभानमा रहेको जालपादेवी मन्दिरमा तयारीस्वरुप आउने झक्तजनहरुको सुविधाका लागि टेण्ट, त्रिपाल राखिएको छ ।

जालपादेवीमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलाको लागि जालपा क्षेत्र विकास समितिद्वारा मेला ब्यवस्थापनलाई टेन्ट तथा बत्तिहरु राख्ने कार्य गरिएको उपाध्यक्ष नवीन चित्रकारको भनाई छ । उनका अनुसार ठुलो टेण्ट ११ थान र सानो टेण्ट चार थान गाडिएको छ ।

गत वर्ष एकादशी मेलामा पांचहजार वढि मानिस जालपादेवीमा सहभागी भएका थिए । यसका साथै भक्तजनहरुका लागि मन्दिर परिसरमा पक्कि भवन तथा पाटीसमेत महाद्विप प्रज्वलनका लागि उपलव्ध गराइने समितिले जनाएको छ ।

जालपादेवी मन्दिर त्रिदेशयि मार्ग वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको वीचमा रहेको छ । जालपादेवीका साथै नुवाकोटको वेलकोटगढी, तारकेश्वर, शिवपुरी, पन्चकन्या, सुर्यगढी, तादी, दुप्चेश्वर, लिखु, किस्पाङलगायत विभिन्न सयौं स्थानमा एकादशी मेला हुने गरेको छ ।








