बिदुरः लाङटाङ घुम्न गएका क्रममा बाढी आएको खोलामा परेर वेपत्ता भएका एकै घरका तीनसहित चार जना अझै भेटिएका छैनन् । भक्तपुरवाट नुवाकोट हुंदै रसुवाको पर्यटकिय स्थल लाङटाङ जादै गरेका दुई युवतीसहित चार जना वेरिङखोलामा आएको बाढीले शनिवार वेलुकीदेखि वेपत्ता भएका हुन् ।

१६ जनाको समूहमा लाङटाङ घुम्न जाने क्रममा रहेका वेला एकै घरका तीन जनासहित भक्तपुरका चार जना युवायुवतीलाई गोसाइँकुण्ड गाउंपालिका –४ बेरिङ खोल्सामा आएको बाढीले यहि असोज १८ गते शनिवारदेखि वगाएकोमा उनीहरुको पांच दिन वितिसक्दासमेत वास्तविकता पत्ता लाग्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । उनीहरुको दैनिक रुपमा खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले वताए ।

प्रजिअ पन्थीका अनुसार लाङटाङ घुम्न गएका वेला बाढीमा परेर भक्तपुर सुर्यविनायक नगरपालिका ४ की २३ वर्षिया संकृति श्रेष्ठ, सोही स्थानका २१ वर्षिय किशन श्रेष्ठ, २६ वर्षिया सनीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ शनिवारदेखि वेपत्ता रहेका छन् । उनीहरुको खोजीमा दैनिक रुपमा ४० जना सुरक्षाकर्मी परिचालित भएका छन् । खोजीमा नेपाली सेना, नेपाल प्रहारी र शसीत्र प्रहरीको टोली परिचालन गरिएको प्रजिअ पन्थीले वताए । सुरुका तीन दिन ड्रोनसहित दैनिक एकसय पांच जना सुरक्षाकर्मी परिचालन भएकोमा दुई दिनदेखि ४० जना सुरक्षाकर्मीसहित वेपत्ता भएकाहरुको आफन्त, सर्वसाधारण परिचालित भइरहेका छन् ।
वेरिङखोल्साको बाढीमा परेर वेपत्ता भएकामृध्ये सनीता, सकृति र किशन एकाघरको भएको प्रजिअ पन्थीले वताए । भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न जाने क्रममा अगाडि हिडेका आठ जनाको टोली घोडातवेला र पछिल्लो आठ जनाको टोली शुक्रबार राति ब्याम्बोस्थित होटेलमा बास बसेका उनीहरू शनिवार लाङटाङतर्फ जाँदै गर्दा पछिल्लो टोलीका चार जनालाई वेरिङखोलामा आएको बाढीले वगाई वेपत्ता वनाएकोमा अझै पनि वास्तविक अवस्था पहिल्याउन नसकिएको प्रजिअ पन्थीले वताए । उनका अनुसार उनीहरुसंगै गएका अन्य १२ जनालाई भने उद्धार गरिएको थियो । पछिल्लो आठ जनामध्ये चार जनालाई शनिवार वेलुकी वेरिङखोला तर्ने क्रमामा बाढीले बगाएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।







