बिदुरः पर्यटकिय रसुवामा अविरल वर्षा रोकिए पनि पदमार्गहरूमा जोखिम कायमै रहेको छ । सचेत भई यात्रा गर्न सम्वन्धित निकायले आग्रह गरेको छ ।

केही दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण रसुवाका मुल सडक र पैदल यात्रा गर्ने सडक÷मार्गहरूमा ढुङ्गा खस्ने, सुक्खा पहिरो आउने जोखिम यथावत् रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । कार्यालयका अनुसार जोखिम कायमै रहेका कारण सचेत, सहज र सावधानीपुर्वक यात्रा गर्न प्रमुख जिल्ला अधिकारी राजेश पन्थीद्वारा जारी सूचनामा उल्लेख छ ।

पांच गाउंपालिका रहेको हिमाली रसुवाको मुख्य सडक तथा ग्रामीण सडकहरूमा पहिरो गई आवागमन प्रभावित भएको पनि जनाइएको छ । मौसममा क्रमशः सुधार भइरहेकाले सडक पुनर्निर्माण र मर्मत सुधार तथा पहिरो पन्छाउने कार्य समेत सम्बन्धित आयोजना तथा स्थानीय तहबाट भइरहेको उल्लेख छ ।
रसुवामा आवतजावत गर्ने सर्वसाधारण, पदयात्रा गर्ने स्वदेशी एवं विदेशी पर्यटकहरूले सुरक्षित एवं सावधानीपूर्वक यात्रा गर्नका लागि कार्यालयले आग्रह गरेको छ । यात्राका क्रममा कुनै समस्या परेमा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न प्रजिअ पन्थीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।






