बिदुरः बाढी आएको खोलामा परेर लाङटाङ घुम्न गएका चार जना वेपत्ता भएका छन् । भक्तपुरवाट नुवाकोट हुंदै रसुवाको पर्यटकिय स्थल लाङटाङ जादै गरेका दुई युवतीसहित चार जनालाई शनिवार वेलुकी वेरिङखोलामा आएको बाढीले वगाएको हो ।

१६ जनाको समूहमा लाङटाङ घुम्न जाने क्रममा रहेका भक्तपुरका चार जना युवायुवतीलाई गोसाइँकुण्ड गाउंपालिका –४ बेरिङ खोल्सामा आएको बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको भनाई छ ।

प्रजिअ पन्थीका अनुसार लाङटाङ घुम्न गएका वेला बाढीमा परेर बेपत्ता हुनेहरुमा भक्तपुर ठिमी नगरपालिका बस्ने करिव २५ वर्षिया संकृति श्रेष्ठ, सोही उमेरका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ रहेका छन् । उनीहरुको खोजीमा नेपाली सेना र प्रहरीको टोली परिचालन गरिएको प्रजिअ पन्थीले वताए । भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न जाने क्रममा पहिले हिडेको आठ जनाको टोली घोडातवेला र पछिल्लो आठ जनाको टोली शुक्रबार राति ब्याम्बोस्थित होटेलमा बास बसेका उनीहरू शनिवार लाङटाङतर्फ जाँदै गर्दा पछिल्लो टोलीका चार जनालाई वेरिङखोलामा आएको बाढीले वगाई वेपत्ता वनाएको प्रजिअ पन्थीले वताए । उनका अनुसार उनीहरुको टोलीलाई होटेलमा राखिएको छ ।

उनीहरुलाई वेलुकी वेरिङखोला तर्ने क्रमामा बाढीले बगाएको प्रत्यक्षदर्शीहरुको भनाई छ । यसैवीच, हिमाली रसुवास्थित लाङटाङखोला, स्याफ्रुबेसी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा रहकाहरुले आइतवारसम्म नै अति उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।





