बिदुरः केन्द्रीय कारागार नुवाकोटका कैदीवन्दीहरुले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा यस वर्षको वडादशैं पर्व मनाएका छन् । उनीहरुले एकआपसमा टिका लगाउनुका साथै सामूहिक भोजभतेर गरेर यस वर्षको वडादशैं मनाएका हुन् ।

विदुर नगरपालिका ६ चण्डीपोखरी, खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा वन्दी जीवन व्यथित गरिरहेका थुनुवावन्दीहरुले विहीवार एकआपसलाई विजयादशमीको टीका लगाएर र भोजभतेर गरेर सामूहिक रुपमा नेपालीहरुको ठुलो पर्व वडादशैं निकै खुसीयालीसाथ मनाएको केन्द्रीय कारागार प्रशासन नुवाकोटले जनाएको छ ।
विभिन्न मुद्धामा परेर कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेल सम्मका लागि वन्दी जीवन विताइरहेकाहरुले कारागारभित्रै आपसमा रमाइलो गर्दै वडादशैं मनाएका हुन् । कारागारमा रहेका ३९ महिलासहित नौसय तीन जना कैदीवन्दीहरुले एकआपसमा खुसी साटासाट गर्दै सामूहिक रुपमा एकआपसमा टीका लगाएर वडादशैं पर्व मनाएको जेलर भेषवहादुर कुवरले जानकारी दिए ।

उनका अनुसार कारागारमा रहेका वन्दीहरुले तीनवटा रांगो तथा आवस्यक मात्रामा खसीवोका र कुखुराको मासु कारागारमै खरिद गरि ल्याएर भोजभतेर गर्नुका साथै वन्दीहरुले विजया दशमीको दिन विहीवार टिकाटालो गर्दै खुशीयालीका साथ मिठा मिठा परिकारहरु कारागार भित्रै पकाएर बांडीचुडी खांदै वडादशैं मनाएका हुन् । कारागारका अनुसार वन्दीका आफन्तहरुले कारागारमै आएर विजया दशमीको टिका तथा जमरा लगाइदिएका हुन् ।
विजया दशमीको दिन विहान १० देखि वेलुकी पांच वजेसम्म वन्दीका आफन्तहरुलाई कारागारमा आएर टिका लगाउन समय दिइएको थियो । सो अवधिमा वन्दीका आफन्तहरु आएर टिका लगाइदिएका हुन् । टिका लगाउनका लागि दुई दिनको समय दिइएको जेलर कुंवरको भनाई छ । वडादशैंका लागी सरकारी तर्फवाट वन्दीहरुका लागी सरकारले दशैंखर्च जनही नगद तीनसय रुपैया उपलव्ध गराइएको थियो भने नपुग वांकी रकम वन्दीका आफन्तजन तथा शुभचिन्तकहरुले उपलव्ध गराएका थिए ।
यस वर्ष आफन्तसंग टीका ग्रहणको प्रवन्ध गराइएको र अधिकांश वन्दीले सामूहिक रुपमा एकआपसमा टीका लगाएर वडादशैं मनाएका हुन् । वन्दीहरुले कारागारमै मासुलगायतका अन्य परिकार खरिद गरि पकाएर खाएका हुन् । वन्दीहरुले सामूहिक रुपमा वडादशैं मनाउनुका साथै एकआपसमा रमाइलो गर्नेे कार्य कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहने जनाइएको छ । नुवाकोट कारागार भित्र रहेका वन्दीहरुका लागी सरकारी तर्फवाट वडादशैंको खर्चका लागि प्रति वन्दी तीनसय रुपैया प्राप्त हुंदै आएको छ । यसका साथै वन्दीहरुले रकम उठाएर खसीवोका, रांगो र कुखुरा खरिद गरेर सामूहिक रुपमा भोजन गरि वडादशैं मनाइएको कारागारले जनाएको छ । वडादशैका बेला वन्दी जीवन विताइरहे पनि कारागार भित्रै वडादशैं मनाउंन पाउंदा कैदी वन्दी निकै खुशी भएको केन्द्रीय कारागार प्रशासन नुवाकोटले जनाएको छ ।

कारागार परिसरमा सुरक्षाकर्मीको घेरा भित्र कैदी वन्दीहरुले भोजभतेर गर्नुका साथै सामूहिक रुपमा टिका लगाएका हुन् । कारागारमा सामूहिक रुपमा र परिवारजन आएर टिका लगाइदिंदा वन्दीहरु निकै खुसी भएका थिए । यसका साथै विदुरस्थित जिल्ला प्रहरी कार्यालयको वन्दीगृहमा रहेका थुनुवाहरुलाईसमेत टिका लगाइएको छ । विभिन्न अभियोगको अनुसन्धानको लागि हिरासतमा रहेका थुनुवाहरुलाई प्रहरी अधिकृतले बिजया दशमीको टिकाप्रसाद र जमरा लगाइदिएका हुन् ।
प्रहरी कार्यालय नुवाकोटमा कार्यरत विभिन्न प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारी र उनीहरुका वालवालिकाहरुलाईसमेत बिजया दशमीको टिकाप्रसाद र जमरा लगाएका छन् । जहां र जुन अवस्थामा रहेपनि नेपालीको पर्व महत्वपुर्ण भएका कारण सामूहिक रुपमा पर्व मनाउन पाउनु खुसीको विषय भएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वताए । उता, नुवाकोटको छिमेकी रसुवाको धुन्चेस्थित जिल्ला कारागारमा रहेका वन्दीहरुलेसमेत सामूहिक रुपमा वडादशैं पर्व मनाएका छन् । कारागारमा रहेका एक आश्रित वालक, सात महिलासहित ९४ जना वन्दीहरुले एकआपसमा रमाइलो गर्दै खुसीसाथ मनाएका हुन् ।
उनीहरुलाई सरकारले वडादशैं खर्चवापत सरकारले तीनसय रुपैया उपलव्ध गराएको र त्यसमा उनीहरुले रकम थपेर एक रांगा, दुई खसि र आवस्यक विभिन्न किसिमका मासु खरिद गरेर दशैं मनाएको जेलर कैलाश देवकोटाको भनाई छ । कारागारमा रहेका थुनुवा र वन्दीका आफन्तहरुलाई कारागारमा आएर टिका लगाइदिने प्रवन्ध गरिएको छ ।





