बिदुरः नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा सोमवार बाजागाजा र तामझामका साथ यस वर्षको वडादशैंको फुलपाती भित्राइएको छ । विदुर नगरपालिका २ स्थित तलेजु भवानी मन्दिरमा सरकारका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्राइएको हो ।

नुवाकोटको फुलपाती भित्राउने परम्परा मल्लकालदेखि नै सन्चालन भएको र गत १८०१ साल असोज १५ गते पृथ्वीनारायण शाहले हमला गरि तेश्रो प्रयासमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि झनै महत्व वढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले वताए । फुलपाती भित्राउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपुर्ण रहेको छ, नुवाकोटको पनि उत्तिकै महत्वपुर्ण रहेको उनले वताए । विशेष गरी फूलपाती बोक्न र वडादशैंमा आउनेहरुको सुविधाको लागि विभिन्न स्थानको बाटोघाटो मर्मत गरिएसंगै यस कार्यमासमेत सुविधा पुगेको हो । नुवाकोटको फुलपाती भित्राउने परम्परा गोरखा र काठमाडौको हनुमानढोकाको जत्तिकै महत्वपुर्ण रहेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्र श्रेष्ठको भनाई छ ।

नुवाकोटवासीले सदियौं पुरानो मंगल गाउने कल्छिनी २०६४ सालदेखि वन्द भएकोमा त्यसलाई निरन्तरता दिन नुवाकोटवासीले सरकारसंग अनुरोध गरेका छन् । यसको निरन्तरताको लागि आफुहरुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिसकेको भए पनि काम पुनः सुचारु हुन नसकेको द्वारे शाहीको भनाई छ ।
मंगल गाउने कल्छिनीको पुनःसुचारु गर्न सरकारीतर्फवाट पहल भइरहेको सरकारी पक्षवाट निरन्तरताको आस्वासन आएको पनि शाहीले वताए । नुवाकोटको तलेजु मन्दिरमा सोमवार सरकारका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको सहभागितामा फुलपाती भित्राइएको हो ।
हनुमान ढोकामा मंगली गाउने नौ जनाको समूह रहेकोमा सरकारले त्यसलाई नुवाकोटको फुलपातीमा ल्याएर पहिले झैं पुनः सुचारु गर्न दवाव दिन स्थानीय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधिलाई नुवाकोटवासीले अनुरोध गरेका छन् । व्राम्हणहरुद्वारा संकलित फुलपाती नुवाकोटको तलेजु मन्दिरसम्म उपासेद्वारा वोकेर भित्राउने प्रचलन रहेको छ । सरकारी प्रतिनिधिसहितका सर्वसाधारण पहिले साततले दरवार राष्ट्रिय संग्रहालयमा भेला भएर जंगल पुगेर वाजागाजासहित नौ प्रकारका फुलपातीलाई विशेष जात्रासहित भित्राएका हुन् । प्रसिद्ध तलेजुमा फुलपाती भित्राउनु अघि फुलपाती ल्याउने स्थान र फुलपाती भित्राउने स्थानमा लिपपोत गरि शुद्ध, जोखो वनाई विशेष पुजापाठ गरिएको थियो ।

सयौँको संख्यामा उपस्थित सर्वसाधारण साततले दरवार राष्ट्रिय संग्रहालयबाट ¥यालीसहित निस्केर फुलपाती लिन धोवीधाराको चौतारामा पुगेर संकलित फुलपाती लिएर तलेजुमा बाजागाजा र तामझामका साथ भित्राइएको हो । सो अवसरमा तलेजु भवानीको मन्दिरमा सरकारीस्तरवाट एउटा वोका वलि दिइएको छ । जंगल र वगंैचा पुगेर बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती वाजागाजा र उच्च सुरक्षाका साथ भित्राइएको हो । वाजागाजासहित दुई किलोमिटर दुरीवाट लावालस्करसहित पुगेर संकलन गरेर ल्याइएको फुलपाती भित्राइएको हो ।
नुवाकोटको तलेजु मन्दिरमा भित्राइएको फुलपाती विजयादशमीको प्रसाद ग्रहणका लागि काठमाडौ हनुमानढोका लैजाने परम्परा रहेको छ । हनुमानढोकामा पुगेको नुवाकोटको फुलपातीलाई टीकासहित प्रसादको रुपमा राष्ट्राध्यक्षलगायतले ग्रहण गर्ने प्रचलन रहेको छ । ऐतिहासिक रुपले गोरखामा फुलपाती भित्राउने चलन जति महत्वपुर्ण छ, त्यति नै नुवाकोटको तलेजुमा फुलपाती भित्राउने कार्य पनि उत्तिकै महत्वपुर्ण रहेको प्रसिद्ध भैरवी मन्दिरका पुजारी हरिमानसिह डंगोलले बताए ।

नुवाकोटमाथि गत १८०१ साल असोज १५ गते पृथ्वीनारायण शाहको तेश्रो प्रयासमा नेपाल एकिकरण युद्ध जितेपछि २५ वर्षसम्म देशकै राजधानी भएको स्थान हो ।
नुवाकोटको प्रसिद्ध तलेजुमा फुलपाती भित्राउने कार्यमा हाल अधिकाँश कार्यहरु छुटाइदै आएकोमा नुवाकोट सम्पदा संरक्षण मञ्चले आपत्ति जनाएको छ । परिवर्तित सन्दर्भसंगै नुवाकोटको तलेजुमा भित्राइने फुलपातीको सास्कृतिक मौलिकता लोप हुदै गएकोमा सर्वसाधारण चिन्तित हुदै गएको र यसलाई निरन्तरता दिन माग गरिए पनि कतैवाट सुनुवाई नभएको विश्व हिन्दु महासंघ नुवाकोटका अध्यक्ष यज्ञराज केसीले वताए ।
महिलाहरुले मंगली गाउने, देशका राष्ट्राध्यक्षलाई सलामी दिइने र कर्नाल, काल, भेरी र बुढीनङ्ग्रा बजाउने सदियौंदेखिको चलन बन्द गरिएको गुनासो फुलपाती भित्र्याउने कार्यमा अगुवाई गरेका सर्वसाधारणले गुनासो गरेका छन् । स्थानीयवासीका अनुसार देशमा गणतन्त्र आएपछि सो परम्परा हटाइएकोमा निकै दुःख लागेको भैरवीका वृद्ध पुजारी हरिमानसिंह डंगोल वताउंछन् । मंगली गाउनेलगायतका चलन पुनः सञ्चालनका सम्वन्धमा माथिल्लो निकायमा जानकारी गराइसकेको भए पनि सुचारु हुन नसकेको नुवाकोट दरवार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटले जनाएको छ । स्थानीय मौलिकता जोगाउने पक्षमा आफुहरु जुटिरहेको स्थानीय युवा सामाजिक कार्यकर्ता विश्वप्रल्हाद श्रेष्ठको भनाई छ ।

नुवाकोटको फुलपाती भित्राउने कार्य ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको वुढापाकाहरुको भनाई छ । जुन काठमाडौंको फुलपाती जत्तिकै महत्वपुर्ण रहेको छ । विशेषगरी नुवाकोटको इतिहास जहाँ प्राचीन समयमा पृथ्वीनारायण शाहको शासन सुरु भएको थियो । त्यो भू–भाग अझै पनि सांस्कृतिक परम्पराहरूको संवाहकका रूपमा रहँदै आएको छ । फुलपाती भित्राउने कार्यमा नेपाली सेनाको मैथलस्थित तालिम गण, शेर गणवाट सरिक सैनिक टुकडीले मंगल सलामी र निशान झण्डा दिएका छन् । तलेजुमा फुलपाती भित्राएपछि सहमागी सवैले प्रसाद स्वरुप भैरवी र तलेजुको टिका ग्रहण गरेका थिए ।
तलेजु मन्दिरमा फुलपाती भित्राउने कार्यमा नेपाली सेनाले सक्रियता जनाएको थियो । बाजागाजासहित उक्त कार्यमा सर्वसाधारणको सहभागिता रहेको थियो । विगतको कार्यहरुको निरन्तरताका लागि सम्वन्धित निकायमा पहल गर्नु पर्ने स्थानीयवासीले माग गरेका छन् । यसअघिका वर्षहरुमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा जनप्रतिनिधिको विशेष उपस्थिति रहने गरेकोमा यस वर्ष कोही पनि आउन नसकेको स्थानीयवासी राजेन्द्रमान डंगोलले गुनासो गरे ।
यसैवीच, नुवाकोटको अर्को विशेष महत्वपुर्ण शक्तिपीठको रुपमा रहेको बेलकोटगढीको निरञ्जना भगवती मन्दिरको वडादशैं घरमा पनि सोमवार फुलपाति भित्र्याइएको छ । बेलकोटगढी नपा १० को धन्सारबाट बोेकेर लगिएको फूलपाती बाजागाजासहित जमरा घरमा भित्र्याइएको हो ।

सो मन्दिरमा काठमाडौं हनुमान ढोकाको वैद्धिक विद्यिअनुसार हरेक बडादशैंमा विशेष पुजा हुँदै आएको स्थानीयवासी तथा पुजारी भोलाराज पौडेलको भनाई छ । उक्र मन्दिरमा घटस्थापनाका दिन दलित, आदीवासी जानजाती तथा व्राम्हण समुदायले संयुक्त रुपमा जमरा राखेका कारण सो स्थानको गतिविधि निकै चर्चित रहेको छ ।
नुवाकोट भैरवी मन्दिरबाट फूलपाति लगेर बेलकोटमा भित्र्याउने चलन रहेपनि उक्त कार्य सदियौंदेखि हराइसकेको स्थानीय निरञ्जना भगवती संरक्षण समितिको भनाई छ । दशैंघर तथा देवी मन्दिरमा उखु, केरा, बेलपत्र, दारिम, जयन्ती धानका बाला, अशोकका पात, अदुवाका पल्लव तथा फलफूललाई शुभसाइतका प्रतीक फूलपातीका रुपमा भित्रयाउने गरिन्छ ।
केही वर्ष अघिसम्म गोरखाबाट ल्याइएको फूलपाती नुवाकोटको भैरवी मन्दिरमा भित्र्याउने र भैरवी मन्दिरबाट ल्याएर बेलकोटको निरञ्जना भगवती मन्दिरमा भित्र्याउने गरिए पनि यो परम्परा पछिल्लो वर्षदेखि लोप भइसकेको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । सदियौदेखि बेलकोटगढीमा बढादशैंको अवसरमा सामूहिक जमरा राख्ने गरिन्छ । सामूहिक राखिएको जमरा घरमा दुई जना मगर समुदायका व्यक्तिहरुले बोकेर ल्याएको फूलपाती भित्र्याएपछि बडादशैं विशेष मेलाको रौनक सुरु हुन्छ । निरञ्जना भगवति मन्दिरमा महाष्टमीको राति कालरात्री गर्ने चलन रहेको छ ।

कालरात्री गरेको हेर्न विभिन्न स्थानबाट दर्शकहरु पुग्ने गरेको निरन्जना मन्दिरका उपासे मानबहादुर रानामगरले बताए । वडादशैंको नवौँ दिन महानवमीमा पनि मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमसहित पशुहरुको वली दिने तथा अन्य मालश्री भन्ने लगायतका कार्यक्रम हुने गरेको छ । बेलकोटगढीको निरञ्जना भगवति मन्दिरमा सामूहिक जमरा राख्ने र विशेष मेला सञ्चालनको लागि बेलकोटगढी नगरपालिकाले सहयोग गरेको छ ।
डोलीमा बोेकेर लगिएको फूलपाति बाजागाजासहित जमरा घरमा भित्र्याइएको हो । सो मन्दिरमा काठमाडौं हनुमान ढोकाको वैद्धिक विधिअनुसार हरेक बडादशैंमा विशेष पुजा हुँदै आएको छ । नुवाकोटको तलेजु र निरन्जनामा राखिने सामूहिक जमरा नेपालमै चर्चित रहेको छ । यस अघि स्थानीयवासी तथा संघसंस्थाको आयोजनामा मन्दिर वरपर सरसफाई तथा बाटो मर्मत गरिएको थियो ।






