बिदुरः महिलाहरुको सुविधाका लागि नुवाकोटको पन्चकन्यामा स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न गरिएको छ । यसवाट महिलाहरुलाई निकै सुविधा पुगेको छ ।

पञ्चकन्या गाउंपालिका २ बेसिकठेरी सामुदायिक स्वास्थ्य ईकाई (तल्लोबेसि) मा स्त्रीरोग सम्बन्धि स्वास्थ्य परिक्षण शिविर सम्पन्न भयो । उक्त महिला स्वास्थ्य परिक्षण शिविरमा ७२ जना महिलाहरुको स्वास्थ्य परिक्षणका साथै पाठेघरको क्यान्सर परिक्षण गरिएको आयोजक मानव अधिकारका लागि महिला–एकल महिला समूह नुवाकोटकी अध्यक्ष गंगा वोगटीले जानकारी दिइन् ।

उनका अनुसार शिविरमा चार जना चिकित्सकसहित १० जनाको स्वास्थ्य प्राविधिक टोलीले महिलाहरुको स्वास्थ्य परिक्षण, परामर्श तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि नमूना संकलन गरेको हो । यसअघि उक्त शिविर लिखु गापाको १ मा गरिएकोमा ४६ जना महिलाहरुको स्वास्थ्य परिक्षण र नमूना संकलन गरिएको थियो ।

यसका साथै उक्त शिविर विदुर नपाको ३, ५, ६, ७, १०, वेलकोटगढी नपाको ७ र ८ मा महिलाहरुको स्वास्थ्य परिक्षण, परामर्श तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि नमूना संकलनको तयारी भइरहेको आयोजक मानव अधिकारका लागि महिला–एकल महिला समूह नुवाकोटकी सल्लाहकार देवकी पौडेलले जानकारी दिइन् । महिलाहरुको उक्त शिविरमा मनमोहन अस्पताल, समूहको केन्द्रीय कार्यालय, मेन्चेत गुम्वाको सहकार्यमा सन्चालन गरिएको आयोजकले जनाएको छ ।






