बिदुरः प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड गएकी एक तीर्थयात्रीलाई लेक लागेको छ । सेनाले उद्धार तथा प्राथमिक उपचार गरेको छ । गोसाइकुण्डतर्फ पैदल जाने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्थित लौरीविनायोको उकालोमा एक महिला तीर्थयात्रीको लेक लागेर स्वास्थ्य समस्या परेका कारण उनको सेनाले उद्धार गरेको हो ।


नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटकी ६५ वर्षीया तारादेवी नेपाललाई स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत चन्दनबारी सुरक्षा पोष्टबाट खटिएको टोलीले उद्धार र घटनास्थलमै प्राथमिक उपचार गरेको हो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई अस्पताल लगिएको हो । नेपालकमै महत्वपुर्ण तीर्थस्थल गोसाइकुण्ड जान धुन्चेसम्म यातायातको साधन र त्यसपछि पैदल हिंडेर जानुपर्ने विशेषता रहेको छ ।

गोसाइकुण्ड जाने पैदल मार्गमा गएको पहिरो हटाएर सेनाले गोसाइँकुण्ड जाने पैदल मार्ग सुचारु गरेको छ । अविरल वर्षात्का कारण आएको पहिरोले अवरुद्ध भएको गोसाइँकुण्ड जाने देउराली–डिम्सा पैदल मार्गको खिम्दीमा श्रीनाथ गणबाट खटिएको टोलीले अवरोध हटाउनुका साथै बाटो मर्मत गरी पैदल आवागमन सुचारु गरेको हो ।









