बिदुरः अविरल वर्षात्का कारण घरमाथिवाट आएको पहिराले नुवाकोटको पुवीै भेगमा रहेको भद्रुटारका विभिन्न घरमा क्षति पुगेको छ । नुवाकोटवाट काठमाडौं प्रवेश गर्ने छोटो सडकमार्गको ढिकुरेको पुलमा भ्वाङ परेको छ । पञ्चकन्या गाउँपालिका–५, भद्रुटारको बैदेटोलमा भारी वर्षात्का कारण आएको पहिरोले स्थानीय तीन घरमा क्षति पु¥याएको छ ।


पहिराले स्थानीयवासी सुरेश थपलिया, उमेश थपलिया र श्याम थपलियाको घरमा क्षति गरेको जानकारी प्राप्त भएसंगै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) को नेतृत्वमा इलाका प्रहरी पञ्चकन्या, गाउँपालिका प्रहरी, गाउँपालिकाका कर्मचारीहरु तथा स्थानीयवासीहरू राति नै घटनास्थलमा पुगेर प्रारम्भिक उद्धार तथा संरक्षण गरिएको गापा अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले जानकारी दिए । विपद र दुःखमा जनतालाई साथ दिदै उद्धारमा आफैं खटिएको उनले वताए । पहिरोग्रस्तस्थलमा पुगेर जोखिममा रहेका पीडित परिवारलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

साथै, पहिरोले क्षति गरेका घरभित्र रहेका महत्त्वपूर्ण सामग्रीहरू समेत सुरक्षित रूपमा उद्धार गरिएको थियो । पहिरोग्रस्त स्थलमा गापा अध्यक्ष तामाङको नेतृत्वमा गाउँपालिकाको टोलीले पीडित परिवारको तत्कालीन बसोबासका लागि अस्थायी टहरा निर्माण कार्य गरेको छ । श्रमदानसहित सहभागीहरुले आवश्यक काम तथा व्यवस्थापन कार्य शनिवार वेलुकी सम्पन्न गरिएको हो ।

साथै, घटनास्थलको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन तथा जोखिमको अवस्थाको मूल्याङ्कन गरिएको छ । पीडित परिवारका लागि पन्चकन्या गापा कार्यालय लाकुरीभन्ज्याङबाट आवश्यक राहत, अस्थायी बसोबास तथा पुनःस्थापनाको व्यवस्था मिलाउनुका साथै आगामी दिनमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विपद्को समयमा घटनास्थलमा पुगेर उद्धार तथा सुरक्षित व्यवस्थापनदेखि अस्थायी बसोबासको व्यवस्था मिलाउने कार्य, विपद् व्यवस्थापनमा तत्काल उद्धार, सुरक्षित स्थानमा व्यवस्थापन, राहत तथा पुनःस्थापना सबैको साझा दायित्व भएकाले मानवीय सहयोग गरिएको स्थानीयवासीले वताए । विपद्को समयमा तत्काल उद्धार, राहत, सुरक्षित बसोबास र पुनःस्थापना सबै तहका सरकार तथा सम्बन्धित निकायको साझा दायित्व भएकाले पीडित परिवारलाई थप राहत र सहयोगका लागि सरोकारवाला निकायको सक्रियतामा स्थानीयवासीले माग गरेका छन् ।

छोटो दुरीको सडकमार्गको पक्कि पुलमा भ्वाङ
अविरल वर्षात्का कारण नुवाकोटवाट काठमाडौं प्रवेशको छोटो दुरीको सडकमार्गको पक्कि पुलमा भ्वाङ परेको छ । यातायातका साधन प्रभावित भएका छन् । त्रिशूली–गंगटे–ढिकुरे–छहरे–टोखा सडकमार्गको बीचमा रहेको नुवाकोटको लिखु गाउँपालिका–१ र ३ जोड्ने तादी नदीमाथिको ढिकुरे पुलमा पानीले क्षति पुगेपछि ठूला सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ । यसवाट यात्रुहरु प्रभावित भएका छन् ।

पुलको लिखु गापा १ ढिकुरेतर्फ रहेको जिपको भागमा क्षति पुगेपछि उक्त सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ । पुलमा क्षति पुगेपछि छहरे–टोखा सडक हुँदै यात्रा गर्ने यात्रु तथा स्थानीयवासीलाई समेत समस्या भएको छ ।
ठूला सवारीसाधन चल्न नसक्दा सामान ढुवानी तथा दैनिक आवतजावतमा समेत असर परेको छ । क्षतिग्रस्त पुलको मर्मत कार्य भइरहेको छ । पुलको मर्मत पूरा भएपछि मात्र ठूला सवारीसाधनको आवतजावत सुचारु गरिने जनाइएको छ ।









