बिदुरः अविरल वर्षात्का कारण नुवाकोटका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण विभिन्न सडकमार्ग अवरुघसमेत भएको छ । नुवाकोटको उत्तरी भेग हुदै रसुवाको दक्षिणपुर्वी भेग जाने नुवाकोटको सूर्यगढीको राम्चेभीरमा पहिरो जांदा सडक अवरुद्ध भएको हो ।

सूर्यगढी गाउँपालिका–२ स्थित राम्चेभीरमा पहिरो जाँदा चोकदे–बोहोरेभञ्ज्याङ हुँदै लच्याङ, उर्लेनी तथा रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न बस्तीमा हुने आवतजावत प्रभावित भएको छ । अविरल वर्षात्का कारण सडकमाथिवाट खसेको पहिरोले सडकमार्ग वन्द हुंदा आवतजावत ठप्प भएको छ । पहिरोका कारण यात्रुहरुले निकै सास्ती खेप्न वाध्य भएका छन् ।

पहिरो पन्छाउन सुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए । उनका अनुसार थप पहिरो नखसेमा शुक्रबारसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । सो गापाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दल तथा स्थानीय समुदायको पहलमा पूर्वाधार विकास कार्यालय नुवाकोटले पहिरो पन्छाउने कामलाई तीव्र रूपमा अगाडि बढाएको छ ।
यसैबीच, जिल्ला सदरमुकाम बिदुरवाट पुगेको सरकारी टोलीले पहिरोग्रस्त स्थानको निरीक्षण तथा आवश्यक समन्वय गरेको छ । यसका साथै नुवाकोटका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध तथा बस्ती जोखिममा परेका छ । अविरल वर्षाका कारण सुर्यगढीका साथै ककनी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिकासहित नुवाकोटका विभिन्न स्थानमा पहिरो जांदा कतिपय सडक अवरुद्ध भएका छन् ।

कतिपय मानवीय बस्तीहरू पनि जोखिममा परेका छन् । सूचना तथा सन्चारमन्त्रि तथा नुवाकोट १ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले जोखिम न्यूनीकरण, उद्धार तथा राहतका कार्यलाई प्रभावकारी वनाउन सरोकारवाला पक्ष, सुरक्षा निकाय र सम्बन्धित निकायसँग नियमित समन्वय भइरहेको जानकारी दिएका छन् । उनले जोखिममा रहेका आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
साथै, पहिरोबाट प्रभावित क्षेत्रका स्थानीयवासीलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन र आवश्यक परेमा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ । सूर्यगढी गाउँपालिका–२ र ३ को सीमास्थित रातमाटे भीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । उक्त क्षेत्रमा सडक सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाइएको छ ।

उता, ककनी गाउँपालिका –५ काउलेथानाबाट थानसिंङ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । झरी र निरन्तरको वर्षाका कारण ककनी गापा–५ को काउलेथानाबाट थानसिंङ जाने सडक भासिएको हो । सडक भासिएपछि उक्त क्षेत्रमा सवारीसाधन र पैदल यात्रुको आवागमनसमेत बन्द भएको छ । सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ । पहिरो लगायतका जोखिममा नजान तथा सतर्क रहन अनुरोध गरिएको छ ।











