बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको लिखु गाउँपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउंपालिका अध्यक्ष ध्रुव श्रेष्ठले विहीवार सम्पुर्ण विद्यालयलाई उक्त निर्देशन दिएका हुन् । साप्ताहिक बिदा व्यवस्थापन तथा शैक्षिक क्यालेन्डरअनुसार गाउँपालिकाभित्रका विद्यालयहरू आइतबारदेखि नियमित सञ्चालन हुने भएका हुन् ।

सम्बन्धित विद्यालय प्रशासन तथा अभिभावकलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको अध्यक्ष ध्रुव श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ । शिक्षामा साविककै कार्यतालिका उचित रहेको ठहर गर्दै लिखु गापाले आइतवार नियमित पठनपाठन गर्न निर्देशन दिएको हो । विद्यालयमा आइतवार नियमित पठनपाठन सुरु गर्न लिखु गापाले सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।

लिखु गापाले आफ्नो गापाभित्रका अधिकांश विद्यालयमा सवारी साधनको प्रयोग नहुने र हप्तामा दुई दिन बिदा हुँदा वार्षिक कार्यघण्टा अपुग हुने सरोकारवालाहरूको सुझावका आधारमा उक्त निर्णय गरिएको जनाएको छ । सोही सुझावलाई मध्यनजर गर्दै गाउँ कार्यपालिकाको वैशाख १७ गते बसेको बैठकले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई निर्देशनसमेत गरेको छ ।
यसअघि नुवाकोटकै शिवपुरी, तादी र तारकेश्वर गाउंपालिकाले समेत केन्द्र सरकारको निर्णयले विद्यालय सन्चालन कार्यतालिका प्रभावित हुने र अध्ययन समय अपुग हुने जनाउंदै आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेका छन् । संघीय सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि यसले शैक्षिक गतिविधिमा असर पर्ने भन्दै स्थानीय तहहरूले वैकल्पिक उपायस्वरूप आइतबार विद्यालय सञ्चालन गर्न थालेका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गरिएको शैक्षिक कार्य अनुसार शैक्षिक सत्र ढिलो सुरु हुने र सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाले विद्यालयको शैक्षिक गतिविधिमा असर पर्ने देखिएको कारण आइतवार विद्यालय सन्चालन गरिने जनाइएको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै गाउँ शिक्षा समितिको बैठकले भर्ना अभियान सञ्चालन गर्ने तथा आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई भर्ना प्रक्रिया तत्काल सुरु गरी नियमित रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।





