बिदुरः बाढीले त्रिशूली नदी कटान गरेपछि जोखिमपुर्ण वनेको नुवाकोटको दर्शनटार र स्वाराको जोखिमपूर्ण बस्ती स्थानान्तरणका लागि सामग्रीहरु उपलवध गरायएको छ । उक्त स्थानमा पहिलो चरणमा ठूला टेन्टसहित आवश्यक सामग्री पठाएर पुनर्वासको काम सुरु भएको छ । तारकेश्वर गाउँपालिका ४ दर्शनटार र स्वाराका जोखिमपूर्ण बस्ती स्थानान्तरणका लागि ठूलो आकारका ३० स्थान टेन्टसहित एकसय थान त्रिपाल, सरसफाइका लागि एकसय थान वासकिट, एकसय थान बाल्टी, एकसय थान मग, एकसय थान पिउने पानी शुद्धीकरण गर्ने पियूषलगायत सामग्री पठाइएको गापा कार्यालयले जनाएको छ ।


यससँगै, माझीगाउँका लागि खाद्यान्न अभाव हुन नदिन तत्काल ७५ बोरा चामल माझीगाउँ पठाइएको गापा अध्यक्ष शिव अधिकारीको भनाई छ । उनका अनुसार भोटेकोशी नदी हुदै त्रिशूली नदीमा आएको बाढीका कारण दर्शनटारका केही घर र स्वाराको सम्पूर्ण बस्ती नै जोखिममा रहेकाले तत्कालै स्थानान्तरणका लागि आवश्यक सामग्री पठाइएको हो ।

अध्यक्ष अधिकारीले जोखिमयुक्त बस्तीमा नबस्न र तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानीय समुदायलाई आग्रह गरेका छन् । त्यसका लागि आवश्यक परे थप सामग्रीहरू तत्कालै उपलब्ध गराइने उनको भनाई छ । अध्यक्ष अधिकारीले बाढीले बगाएका र जोखिमका कारण विस्थापित भएका सम्पूर्ण परिवारका लागि तत्कालका लागि अस्थायी र यथाशीघ्र छिटो स्थायी पुनर्वासका लागि योजनाबद्ध रुपमा काम सुरु गरिएको बताए ।







