बिदुरः नुवाकोटको सांढे तीन दशक पुरानो विदुर नगरपालिकाले आफू मातहतका विद्यालयहरूको ‘शैक्षिक उपलब्धिको तुलनात्मक अवस्था’ सार्वजनिक गरेको छ । नपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कक्षा ५, कक्षा ८ को नगरस्तरीय परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसइईेको पछिल्लो तीन शैक्षिक सत्रको नतिजा विश्लेषण प्रस्तुत गरिएको होे । विदुर नपामा रहेका विद्यालयहरुको ‘शैक्षिक उपलब्धिको तुलनात्मक अबस्था सार्वजनिक’ गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर राजन श्रेष्ठले बिदुरको शैक्षिक अवस्था सुदृढ रहेको दावी गरे ।


कार्यक्रममा विदुर नपाले सञ्चालन गर्दै आएको कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सहित माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को पछिल्लो तीन शैक्षिक शत्रको तथ्याङ्क विश्लेषण सहितको प्रस्तुतीमा शैक्षित्र उपलब्धिहरु सुधारात्मक भइरहेको जानकारी दिइएको छ । बिदुर नपाले शैक्षिक विकासका लागि गरिरहेको विभिन्न कार्यका सम्बन्धमा जानकारी दिइएको कार्यक्रममा बिदुर नपाकी उपमेयर प्रभा वोगटी, सामाजिक विकास समितिका संयोजक तथा बिदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, ९ का वडाध्यक्ष हरेराम भण्डारी, ११ का वडाध्यक्ष बाबुराम तामाङ, शिक्षा समितिका सदस्यहरु लगायतले आधुनिक र व्यवहारिक शिक्षा प्रणालीका सम्वन्धमा चर्चा गरेका थिए ।

कार्यक्रममा विदुरका विद्यालयहरूको ‘शैक्षिक उपलब्धिको तुलनात्मक अवस्था सार्वजनिक’ गर्दै मेयर राजन श्रेष्ठले पछिल्लो तीन वर्षको शैक्षिक सत्रमा कक्षा ५, ८ र कक्षा १० मा उल्लेख सुधार भएको तथ्याङ्क सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि विदुर नपाले विशेष कार्य गरिरहेको वताए । शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयहरूबीचको प्रतिस्पर्धात्मक सुधार तथा पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्यले उक्त विवरण सार्वजनिक गरिएको मेयर श्रेष्ठको भनाई छ । प्रस्तुत गरेको विवरणमा विगत तीन वर्षमा शैक्षिक उपलब्धि क्रमशः सुधारात्मक रहेको उल्लेख गरिएको छ ।

यसका साथै, शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले लागू गरेका नवीन कार्यक्रम तथा पहलहरूबारे पनि जानकारी दिइएको थियो । यसैबीच, प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीहरूले बढीमा दुई विषयसम्म पुनर्योगका लागि पांच दिनभित्रमा आवेदन दिन सक्ने जानकारी दिइएको छ ।

यसैवीच, नियमित परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि आगामी २०८३ साल वैशाख ५ गतेदेखि १३ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने बिदुर नपाले जनाएको छ । सम्बन्धित विद्यालयहरूले परीक्षा दिने विद्यार्थी र विषय एकिन गरी आवश्यक विवरण शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने जनाइएको छ ।








