बिदुरः गाउंवासीलाई पिउनेपानीको सुविधासहित नुवाकोटको तारकेश्वरमा दुई स्थानमा पिउने पानी योजना निर्माण गरिएको छ । उक्त योजनाको एकैपटक उद्घाटन गरिएको छ । यससंगै तारकेश्वर गाउंपालिका ५ को दुई खानेपानी आयोजनावाट २ सय १५ घरमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ ।


सो वडाको सिरानटोल र गोस्र्याङमा दुई खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको हो । दुवै खानेपानी योजनाको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरे । तारकेश्वर गापाको ५ लाख आर्थिक र अन्य प्राविधिक सहयोगमा लिभिङ वाटर नेपालले निर्माण सम्पन्न गरेको सिरानटोलको खानेपानी आयोजना अन्तर्गत ६० घरमा ’एक घर एक धारा’ निर्माण गरिएको छ ।

गोस्र्याङ खानेपानी आयोजना अन्तर्गत १ सय ५५ घरमा ’एक घर एक धारा’ निर्माण गरिएको छ । उक्त आयोजनाको उद्घाटन गर्दै गापा अध्यक्ष अधिकारीले तारकेश्वर गापाका सबै वडाका सबै गाउंवस्तीहरूमा सफा र स्वच्छ खानेपानी पु¥याउने अभियान अन्तर्गत पालिकाको पहलमा उक्त खानेपानी आयोजनाहरूको निर्माण सम्पन्न भएको बताए ।

गाउँपालिका आफैंले र विभिन्न संघसंस्थासँगको समन्वयमा बाँकी रहेका गाउंवस्तीहरूमा क्रमशः खानेपानी आयोजनाहरू सम्पन्न गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष अधिकारीले आयोजनाको नियमित मर्मत सम्भार र संरक्षण गरिने बताए । आयोजनाको संरक्षणमा उपभोक्ताहरूले समेत जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
तारकेश्वर गापा ५ का अधिकांश गाउंहरूमा यसअघि नै ’एक घर एक धारा’ अभियान सम्पन्न भइसकेको छ । बाँकी रहेका दुई टोललाई पनि छिट्टै स्वच्छ र सुविधायुक्त खानेपानीको पहुँचमा ल्याउने तयारी भइरहेको उनले बताऐ ।

अध्यक्ष अधिकारीले आफूले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको समन्वयमा तारकेश्वरका विभिन्न टोल बस्तीमा खानेपानी आयोजनाको निर्माण अभियान सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिइने वताए । तारकेश्वर गापा र लिभिङ वाटर नेपालको सहकार्यमा सिरानटोल र गोस्र्याङमा दुई खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको हो ।







