बिदुरः उपभोक्ता सचेतनामा जोड दिदै नुवाकोटमा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । दिवसका अवसरमा विदुरमा आयोजित कार्यक्रममा उपभोक्ता अधिकार सम्वन्धि सचेतनासमेत प्रदान गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता भन्ने मुल नाराका साथ सन्चालित कार्यक्रममा उपभोक्ता अधिकारका लागि स्वयं उपभोक्ताहरु नै सचेत र जागरुक हुनुपर्नेमा जोड दिइएको छ ।


कार्यक्रममा सहभागी सरोकारवालाहरुले उपभोक्ता सचेत भएमा उपभोग्य वस्तुको प्रभावकारीताको पहिचान गर्नसक्नेसमेत निष्कर्श निकालिएको छ । कार्यक्रमामा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बजार अनुगमन समितिका संयोजक कृष्णप्रसाद हुमागाइले आम जनता सचेत भएर उपभोक्ताको हित प्रवद्र्धनमा क्रियाशील हुनु पर्ने वताए । उपभोक्ताहरुको साथमा सदैव प्रशासन रहेको वताउंदै हुमागाइले उपभोक्ताहरुको हक तथा अधिकारको पालनमा सरोकारवाला निकायसमेत सदै उत्तरदायी हुनु पर्ने वताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गुणस्तरिय उपभोग्य सामग्रीको प्रवद्र्धनमा उत्पादकहरु सदैव क्रियाशील हुनु पर्ने वताए । उनले उपभोक्ताको अधिकारका लागि उत्पादकहरु सदैव सचेत रहनुपर्नेसमेत वताए । कार्यक्रममा उद्योग वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले कार्यालयले सदैव उपभोक्ता तथा उद्योग, वाणिज्यको क्षेत्रमा सकारात्मक कार्य गरि गुणस्तरियतामा कदम चालिरहेको वताए ।

कार्यक्रममा महिला उद्यमी गीता अमात्य, लघु उद्यमी महिला गीता थापा, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रवहादुर पण्डित, नागरिक समाज नुवाकोटका अध्यक्ष वद्री त्रिपाठीलगायत लघु तथा महिला उद्यमीहरुले उपभोक्ता अधिकार सचेतनाका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।








