बिदुरः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटमा झण्डै सात हजार मत बदर भएको छ । नुवाकोटका दुइवटै क्षेत्रमा बदर मतको संख्या धेरै रहेको भेटिएको छ । नुवाकोटको दुई निर्वाचन क्षेत्रमा गरि कूल एक लाख ४१ हजार ४ सय ९२ मत खसेकामा ६ हजार सात सय २४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।


नुवाकोटमा कुल एक लाख ३४ हजार सातसय ६८ मत सदर भएको जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत कुल खसेको मतमध्ये चार दशमलव ७५ प्रतिशत रहेको छ । नुवाकोट–१ मा एकलाख २३ हजार नौसय २९ मत मध्ये जम्मा ७१ हजार ४० मत खसेकामा ६७ हजार सातसय ६० मत सदर भएको थियो ।

सो क्षेत्रमा कुल खसेकोमध्ये पांच दशमलव २९ प्रतिशत मत बदर भएको छ । यसैगरी क्षेत्र नं २ मा एकलाख २३ हजार नौसय ३९ मतमध्ये ७० हजार चारसय ५२ मत खसेको थियो । सो क्षेत्रमा खसेकोमध्ये ६७ हजार ९० मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नुवाकोट २ मा तीनहजार तनिसय ६२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी थापामगरले वताए । मत बदर हुन नदिनका लागि सन्चालित कार्यक्रमा प्रभावकारी हुन नसकेको जनाइएको छ । मतदाता शिक्षा कार्यक्रमलगायत विविध कार्यक्रमले बदर मत वढेको पर्यवेक्षकहरुको भनाई छ ।

मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाइएको, मतपत्रमा उचित स्थानमा छाप नलगाएको, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाइएको, मतपत्रमा एक भनदा वढि निर्वाचन चिन्हमा छाप लगाएको, छाप नै नलगाएकोलगायतका कारणले मत बदर भएको पाइएको छ । मतदातामाझ पूर्णरुपमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको कारण बदर मत धेरै देखिएको जनाइएको छ ।






