बिदुरः नुवाकोटमा मतगणनास्थल तयार गरिएको छ । क्षेत्र नं. १ को खरानीटार र क्षेत्र नं. २ को विदुरमा मतगणना गरिने तयारी भएको छ । दुइवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल तयार पारिएको छ । क्षेत्र नम्बर १ को खरानीटारस्ति तादी गाउंपालिका, क्षेत्र नम्बर २ को विदुरस्थित जिल्ला अदालतमा मतगणना हुनेछ ।


नुवाकोटमा एकसय ३२ मतदानस्थलमा दुई सय ९३ मतदान केन्द्र कायम गरिएका छन् । केन्द्रीय कारागार नुवाकोटमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । त्यहां एकसय ४५ जना मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गराउन नुवाकोटमा एक हजार सातसय ५८ जना कर्मचारी खटिएका छन् ।

प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र दुई जना स्वंसेवक परिचालन गरिएका छन् । नुवाकोटमा एक लाख १८ हजार नौसय ७५ जना महिला, तीन जना अन्य र एकलाख २८ हजार आठसय ९० जना पुरुष गरी दुईलाख ४७ हजार आठसय ६८ जना मतदाता रहेका छन् । निर्वाचनमा नुवाकोटका एकसय ४२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

उनीहरुका लागि केन्द्रीय कारागार नुवाकोटमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो । कारागारमा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् । कारागार अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरी तीन जनाको टोली खटाइएको छ ।





