बिदुरः साथीहरुसंग पौडी खेल्ने क्रमामा त्रिशूली नदीमा डुवेको एक जना स्कुले वालकको शव फेला परेको छ । नदीमा डुवेको १० दिनपछि शव फेला परेको हो ।


बिदुर नगरपालिका ४ स्थित बसपार्क तल साथीहरुसंग त्रिशूली नदीमा पौडी खेल्ने क्रममा यहि फागुन ६ गत वेपत्ता एक स्कुले विद्यार्थीको शव १० दिनपछि शुक्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्कुले विद्यार्थीको शव घटनास्थलबाट सातसय मिटर तल सिचाँईपुल नजिकै फेला परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार म्यागङ गाउँपालिका–५ कल्लाबारी घर भई हाल विदुर नपा–२, बट्टार दम्कीचोकमा बसेर स्थानीय सुभेनियर वोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय रिबज तामाङ मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएपि लामाले वताए ।

तामाङ साथीहरूसँग पौडी खेल्न गएका वेला त्रिशूली नदीमा डुवेका थिए । त्यसयता उनको लगातार खोजी भइरहेको थियो । प्रहरीका अनुसार तामाङको शव देवीघाट जलविद्युत केन्द्र नजिकै सिँचाइ पुल आसपासमा फेला परेको हो । विद्यार्थी तामाङको खोजीका लागि स्थानीयवासी, आफन्त, नेपाल प्रहरी, नेपाली सेना तथा तालिमप्राप्त टोली परिचालन गरिएको थियो ।









