बिदुरः नुवाकोटको लिखु गाउंपालिकाले पहिलो पटक सार्वजनिक जग्गाको रेखांकन कार्य सुरु गरेको छ । लिखु गापामा सार्वजनिक जग्गा धेरै रहेका कारण त्यसको सदुपयोग गर्न स्थानीयवासीले माग गरेका छन् । सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको लिखु गापा ६ थानसिङस्थित लिखु खोला किनाराको सार्वजनिक जग्गा नापजाँच गरी किला गाड्ने कार्य गरेको हो । लगातार एकसातासम्म गरिएको अनुगमन तथा नांपजांचवाट सार्वजनिक जग्गाको पहिचान गरिएको छ ।


थानसिङ हुदै वहने लिखु खोला किनारामा रहेको सार्वजनिक जग्गाको सोमवार नापजाँच तथा किला गाडी छुट्टाउने कार्य सम्पन्न भएको छ । लिखु गापाको चालु आव २०८२/०८३ को कार्यक्रम अनुसार लिखु खोलाको किनारमा रहेको सार्वजनिक जग्गालाई व्यवस्थित र सुरक्षित गर्न उद्देश्यसहित उक्त अभियानसम्पन्न भएको लिखु गापा कार्यालयले जनाएको छ ।

उक्त कार्यका लागि लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष शुभदा अधिकारीउप्रेती, वडाध्यक्ष सुमन भण्डारी, कार्यपालिका सदस्यहरू, वडाका जनप्रतिनिधिहरु तथा स्थानीय युवा तथा सामाजिक क्षेत्रका अगुवाहरुको सक्रिय भूमिका रहेको थियो । गापाका कर्मचारी, जिल्ला नापी कार्यालय तथा नापी विभागवाटसमेत प्राविधिकहरुको सहभागिता रहेको स्थानीय युवा रामशरण जिसीको भनाई छ ।

सर्वसाधारणले खनजोत गरिरहेको लिखु खोला किनारामा दुई हजार रोपनी सार्वजनिक जग्गा छुट्टयाइएको र पिल्लर गाड्ने कार्यसमेत सुरु गरिएको अर्का युवा प्रकाश डंगोलले वताए । सार्वजनिक जग्गा संरक्षण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै युवा साथीहरू, स्थानीयवासीहरू तथा सरोकारवालाप्रति पालिका आभारी रहेको गापा अध्यक्ष ध्रुव श्रेष्ठको भनाई छ ।

लिखु–६ बाट सुरु गरिएको उक्त छुट्याइएको सार्वजनिक जग्गाको उचित रुपमा सदुपयोग गर्दै अस्पताल , कभर्ड हल, खेल मैदान तथा वगैचालगायत स्थानीय आवस्यकता अनुसारको संरचना निर्माण गरिनु पर्ने स्थानीयवासीको माग रहेको छ । समृद्ध लिखु निर्माणको आधार तयार गर्ने योजनासहित स्थानीय युवाहरूले पनि “लिखुको विकासमा सधैं साथ रहने” प्रतिबद्धता व्यक्त गरेको वडाध्यक्ष सुमन भण्डारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा लिखु गापाको ६ नं. वडा भित्रको लिखु खोला किनाराको दुई हजार रोपनी सार्वजनिक जग्गा नापजाँच गरी किला गाडी सार्वजनिक जग्गा छुट्टाउने कार्य सम्पन्न गरिएको हो । सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै सुरु गरिएको यस महत्वपूर्ण कार्यको लिखुवासीले प्रशंसा व्यक्त गरेको स्थानीयवासी विक्रम आचार्यले वताए ।

सार्वजनिक जग्गा पहिचान, सीमांकन र दीर्घकालीन रूपमा सुरक्षित गर्न नापजाँच–किला गाड्ने कार्य गरिएको हो । उक्त योजनाको कार्यान्वयनको क्रममा सहयोग र समन्वय गर्ने सधियार जग्गाधनीहरू प्रतिपनि लिखु गापाले आभार व्यक्त गरेको छ ।








