बिदुरः वितेको आर्थिक वर्षमा सवैभन्दा धेरै कर तिर्ने करदाताहरु सम्मानित भएका छन् । नुवाकोट र धादिङका करदाता सम्मानित भएका हुन् ।


राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय गल्छीले गत आव २०८०/०८१ मा नुवाकोट र छिमेकी धादिङ जिल्लाबाट सबैभन्दा धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरेको हो । कार्यालयले सोमवार कार्यक्रमसहित दुई जिल्लावाट गत आवमा धेरै कर तिर्ने एक/एक जना करदातालाई सम्मानित गरेको हो ।

नुवाकोट, धादिङ र रसुवाको करदाता सम्वन्धि कार्य आन्तरिक राजश्व कार्यालय गल्छीमार्फत हुदै आएको छ । कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय कर दिवसको अवसरमा नुवाकोटबाट सबैभन्दा बढि आयकर तिर्ने त्रिशूली बिर्डिङ्ग एण्ड रिसर्च फार्म प्रालिका संचालक बिष्णुप्रसाद रिमाल र धादिङको आर्जित कन्ट्रक्सनका अम्विका खड्कालाई आन्तरिक राजश्व कार्यालय गल्छीका प्रमुख प्रेमप्रकाश शाही, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीलगायतले सम्मानित गरेका हुन् ।

सम्मानित दुवै करदातालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको हो । कर तिरेर सभ्य करदाताको रुपमा प्रस्तुत हुनु करदाताको कर्तव्यसमेत भएको कार्यक्रमका सहभागीहरुले वताए ।

आयकर तिर्नु सरकारको अभियानमा साथ दिनु र कानुन अनुसार सफल व्यवसाय गरेको जनाउंदै गत वर्ष धेरै कर दाखिला गरेका रिमाल र खड्कालाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय गल्छीका प्रमुख प्रेमप्रकाश शाहीले वताए । सरकारले हरेक वर्ष कर दिवसका अवसरमा बढि कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ ।

उक्त कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी, नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले करदाताले कर तिरे अनुसार प्रभावकारी सुविधा पाउन नसकेको बताए ।












