बिदुरः वडादशैको नवौं दिन महानवमीको अवसरमा वुधवार नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पूजाआजा गर्नेको घुइंचो लागेको छ । विविध कारणले गत वर्ष मन्दिर दर्शन गर्न नगएकाहरु यस वर्ष परिवारैसहित विभिन्न शक्तिपीठहरु पुगेका थिए ।


नुवाकोटको टाकुरोका रहेको प्रसिद्ध र महत्वपूर्ण भैरवी, देवीघाटमा रहेको जालपादेवी, वेलकोटमा रहेको निरञ्जना भगवति, वगुवामा रहेको पञ्चकन्या, सिमुटारमा रहेको इन्द्रायणी, वनदेवी, चोकदेको वागेश्वरीलगायतका मन्दिरमा नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पुजाआजा र दर्शनका लागी हजारौं सर्वसाधारणको संख्या वढेको हो । घरायसी तथा विविध कारण गत वर्ष मन्दिर जान नपाएका भक्तजनहरु यस वर्ष मन्दिर पुगिरहेका थिए । वडादशैको नवरात्रको महानवमीका अवसरमा नुवाकोटको जालपादेवी मन्दिर, भैरवी मन्दिर, बेलकोटगढीको निरञ्जना भगवति मन्दिर लगायतका शक्तिपीठहरुमा पुजा आरधाना गर्नेेहरुको भीड लागेको छ । यसबाहेक नुवाकोटको तारुका, बुधसिङ, दुइपिपल, भैरुमकोटलगायत स्थानमा रहेका कोट घरमा समेत पुजाआजा गरिएको छ ।

महानवमीमा नुवाकोटको भैरवी तथा बेलकोटको निरञ्जना भगवति मन्दिरमा, फूलपाती, कालरात्रि र महानवमीका दिन भव्य मेला लाग्दछ । मल्लकालमा निर्माण गरिएको भैरवी मन्दिरमा नुवाकोटको विभिन्न स्थानका अतिरिक्त राजधानी काठमाडौवाट समेत भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा भाकल गरेर दशैको समयमा पुजा अर्चना गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ । मन्दिर नजिकै रहेको दशैंैघर र तलेजु मन्दिरमा महानवमीको दिन विशेष पुजा हुने गरेको छ ।
विजया दशमीको दिन सामूहिक रुपमा टिका लगाई दशंैघरमा राखिएको जमरा लगाउने प्रचलन रहेको पुजारी हरिमानंिसह डंगोलको भनाई छ । वडादशैको महानवमीमा नुवाकोटको महत्वपूर्ण विभिन्न मन्दिरहरुमा पुजाआजा र दर्शनका लागी सर्वसाधारणको संख्या वढे पनि वलि दिने कार्य गतवर्षको भन्दा कम भएको मन्दिरका पुजारीहरु वताउंछन् ।

महानवमीमा नुवाकोटका तुलजा मौला, साततले दरवार अगाडिको मौला, लामपाटीमा रहेको छुट्टै मौला, कालिका मौलाका साथै भैरवी, जालपादेवी र इन्द्रायणी मन्दिरमा सरकारी तर्फवाट सातवटा रांगो, ६ वटा वोका एउटा भेडाको थुमाको वलि दिइएको छ । यस वर्ष नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पुजापाठ गर्नका लागि गत वर्षको भन्दा ५० प्रतिशत वढि सर्वसाधारणको भीड लागेको नुवाकोटको स्थानीय वृद्ध अगुवा यज्ञराज केसीले वताए । परिवर्तित समयसंगै सर्वसाधारणको धार्मिक आस्था वढेको पाइएको उनले वताए । सर्वसाधारण पछिल्लो समयदेखि पशु वलि भन्दा पनि नरिवल चढाउनतर्फ आकर्षित भएको पाइएको छ । विभिन्न संघसंस्था तथा सर्वसाधारणले पनि पशु वली दिंदैमा धर्म नहुने निष्कर्ष निकाली नरिवल चढाउन लागेको पुजारीहरुको भनाई रहको छ । गत १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा नेपाल एकिकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा वडादशैं पर्व विशेष रुपमा मनाउन सुरु गरेको पाइन्छ ।

वडादशैंमा नुवाकोटको विभिन्न देवी मन्दिरहरुमा सरकारीतर्फवाट पुजापाठ हुने गरेको छ । घटस्थापनाको दिनदेखि महानवमीसम्म नुवाकोटका विभिन्न शक्तिपीठहरुमा वोका, कुखुरा, हांसको वलि दिने गरिएको छ । मेला भर्न छिमेकी रसुवाका साथै काठमाडौं, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लाबाटसमेत भक्तजनहरु आउने गर्दछन् । विदुर नपा २ नुवाकोटमा रहेको भैरवी मन्दिरमा ऐतिहासिक र धार्मिक रुपले समेत महत्वपूर्ण मानिने कारण वडादशैंको अतिरिक्त वैशाख पुर्णाीमालगायतका अवसरमा विशेष मेला लाग्ने गरेको स्थानीय वृद्ध गोविन्द वानियाको भनाई छ । भैरवी मन्दिर पांचसय वर्ष पुरानो भएका कारण यहां पुजाआजा गर्न आउनेहरु वढिरहेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्रलाल श्रेष्ठको भनाई छ । महानवमीका वेला नुवाकोटको भैरवी, जालपादेवलिगायतका शक्तिपीठमा पुजाआजाका लागि यातायातका सहज पहुंच भएका कारण काठमाडौंवाटसमेत सर्वसाधारण आउने गरेका छन् ।






