बिदुरः लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेकाहरुको लागि नुवाकोटको विभिन्न स्थानमा अस्थायी क्याम्प खडा गरिएको छ । विभिन्न स्थानमा आश्रित केन्द्रहरुसमेत रहेका छन् । गत भदौ १० गते वुधवार विहान १० वजे आएको प्रलयकारी बाढीले थातथलो वगाएर घरवार विहीन भएकाहरु नुुवाकोटमा यतिखेर दुई प्रकारको आश्रयस्थलमा वसिरहेका छन् । एक थरि बिदुर नगरपालिका ५ को विभिन्न स्थानमा टेण्ट गाडेर अस्थायी आश्रयस्थलका रुपमा र अर्काे विभिन्न आठ स्थानमा सन्चालित अस्थायी आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा वसोवास गरिरहेका छन् ।

बेलकोटगढी नगरपालिकाको तीन र बिदुर नगरपालिकाको पांच स्थानमासमेत गरि ९१ म्हिलासहित एकसय ८३ जना अस्थायी आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा वसोवास गरिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अधिकृत रुपेशप्रसाद नेपालका अनुसार अस्थायी आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा वसोवास गरिरहेकाहरुको स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परिक्षण गर्ने कार्य भइरहेको छ । उता, बिदुर नपा ५ को विभिन्न पांच स्थानमा बाढीवाट विस्थापित भएकाहरुलाई टेण्ट गाडेर अस्थायी रुपमा वसोवास गराइएको छ ।

बाढी पीडितहरुमध्ये वाणाचौतारामा एकसय ३२, पोष्टवहादुर पार्कमा ४५, रक्तकालीमा ७५, ठुलोगाउमा ३७ र चन्द्रज्योति मावि नजिकै लामिवगैचामा २५ वटा टेण्ट राखिएको स्थानीय स्वंसेवी दीपेन्द्र पौडेलले वताए । उनका अनुसार ति टेण्टहरुमा दुई सय ५० बालवालिकासहित ६ सय जना वसोवास गरिरहेका छन् । ंविभिन्न स्थानमा टेण्ट गाडेर अस्थायी आश्रयस्थलका रुपमा वसोवास गर्नेहरुमा ४० जना वृद्धवृद्धाहरु रहेका छन् । उनीहरुलाई विभिन्न निकायले स्वास्थ्य परिक्षण गर्दै आएका छन् ।










