बिदुरः वहुप्रतिक्षित चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्र यहि असोज १६ गते शुक्रवारदेखि देश्व्यापी प्रदर्शन हुने भएको छ । सार्वजनिक पौने चार मिनेट लामो ‘चमेलीको पोइ’ को ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनमा आउने उतारचढाव, बिश्वास, घात र मानवीय सम्बन्धका धारहरु प्रस्तुत गरिएका छन् । हाँस्दाहाँस्दै आँशुसमेत झार्ने अवस्था सिर्जना हुन पुग्ने ट्रेलरले पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरेको देखिन्छ ।


निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक चलचित्र भएको बताएका छन् । दर्शकलाई साढे दुई घण्टा पूर्ण मनोरञ्जन दिने उद्धेश्यले फिल्म निर्माण गरिएको उल्लेख गर्दै उनले भावनात्मक रुपले पनि दर्शकको मन छुने बिश्वास ब्यक्त गरे । मुस्ताङको विभिन्न मनमोहक दृश्य संग्रहित यस चलचित्र सफल तथा अनुभवी बोहरा निर्देशित नवौं चलचित्र हो । यसअघि ‘चमेलीको पोइ’ का निर्माता रामनारायण उपाध्यायले चलचित्र र यसको प्रस्तुती आफुलाई निकै राम्रो लागेको वताए ।

निर्देशक बोहराले निकै मेहनत गरेर वनाइएको चलचित्रको प्रदर्शन मिति नजिक आउंदै गर्दा निकै खुसी लागेको वताए । सो चलचित्रमा मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाल रहेका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको ‘चमेलीको पोइ’ को निर्माता रामनारायण उपाध्यायले निर्देशक बोहराको समूहले निकै मेहनतका साथ सवै परिस्थिथितिको आंकलन गरेर समयमै चलचित्र निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गर्दै अव प्रदर्शनको तयारी पुरा गरिएको जनाएका छन् । हामीले बनाएको हाम्रो चलचित्र ‘चमेलीको पोई’ महत्वपूर्ण छ, हामीहरु ऋव चलचित्रलाई दर्शकहरुसम्म लैजान आतुर छौ निर्देशक बोहराले वताए ।

यसअघि नै ‘चमेलीको पोई’ को पोस्टर, शीर्ष र दोश्रो दुवै गीतबाट चर्चा पाएको चलचित्र प्रदर्शनका लागि आफुहरु अव हलमा दर्शकहरुकोे पर्खाइमा रहेको निर्देशक एभरेष्ट सुर्य बोहराको भनाई छ । निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा र शेरबहादुर तामाङको छायांकन रहेको सो चलचित्रको निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् ।

उदयविक्रम राणा, रितु मल्लठकुरी तथा कपिल आचार्य कार्यकारी निर्माता रहेको सो चलचित्रको सह–निर्मातामा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली तथा सुदीप कुँवर हुन् । यसै चलचित्रमार्फत लामो समयपछि चर्चित हास्यकलाकार नारायण त्रिपाठी कमव्याक भएका छन् । चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएलशाही, रितु मल्लठकुरीलगायतले अभिनय गरेका छन् ।

यस चलचित्रको गीतमा राजनराज सिवाकोटी र आशिष अविरलको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व रहेको छ । यसको प्रदर्शनसंगै निर्माण पक्षले अर्को चलचित्रको तयारी सुरु गर्ने जनाएको छ ।







